काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाको अनुगमन गर्न पुगेको आयोगको टोलीलाई जबरासँग भेटघाट गर्न रोक लगाइएको भन्दै आपत्ति जनाएको छ।
आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्ति अनुसार घटनाको अनुगमनका लागि आयोगका सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली आज काठमाडौंको टेकुस्थित प्रहरी परिसर पुगेको थियो। तर, प्रहरीले टोलीलाई जबरासँग भेटघाट गरी आवश्यक जानकारी लिन रोक लगाएको छ।
अनुगमनका क्रममा प्रहरीको उच्च नेतृत्वसँग यसबारे जानकारी माग्दा आयोगको टोलीलाई अनुगमन गर्न नदिइनुको कारणसमेत स्पष्ट नगराइएको आयोगको भनाइ छ।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४(क) मा आवश्यकताअनुसार सार्वजनिक तथा निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ। साथै, मानव अधिकार संरक्षणका लागि सम्बन्धित निकाय, संस्था वा स्थानमा आवश्यक सुधारका सम्बन्धमा सुझाव तथा निर्देशन दिन सक्ने अधिकारसमेत आयोगलाई रहेको जनाएको छ।
आयोगले आफ्नो संवैधानिक तथा कानुनी अधिकार विपरीत नेपाल प्रहरीबाट भएको व्यवहारप्रति खेद व्यक्त गरेको छ।
आयोगले घटनाको निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ। साथै, आयोगलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।








