काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले असोज ९ देखि ११ गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सम्भावित क्षति न्यूनीकरणका लागि सबै संयन्त्रलाई तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको हो ।
मौसम विज्ञान विभागको प्रक्षेपणलाई उद्धृत गर्दै उहाँले आगामी केही दिन मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राखेर पूर्वतयारी गर्नुपर्ने बताउनुभयो ।

उत्तर अण्डमान सागरबाट विकसित मौसमी प्रणाली पश्चिम–उत्तर दिशातर्फ सर्दै जाँदा त्यसको प्रभावले शहरी तथा तराई क्षेत्रमा डुबान र पहाडी भूभागमा भूक्षय तथा पहिरोको जोखिम बढ्न सक्ने उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले ठूला तथा साना नदीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो । भारी वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने भन्दै सरोकारवाला निकायलाई आवश्यक पूर्वतयारी गर्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र मौसम तथा विपद्सम्बन्धी अद्यावधिक सूचना पछ्याउन आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी विपद् प्रतिकार्यमा जुट्न तथा नागरिक समाज र गैरसरकारी संस्थासँगको सहकार्यलाई प्रभावकारी बनाउन पनि आह्वान गर्नुभयो ।







