काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष ईश्वर पोखरेलसहित सात जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकले पोखरेलसँगै पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे, थममाया थापा, शिवमाया तुम्बाहाम्फे, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको हो ।
सचिवालयको निर्णयलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले मनोनीत सबै नेताको नाम अनुमोदन गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार स्थायी कमिटीमा मनोनीत गर्न बाँकी रहेका नेताहरूको नाम भने आगामी बैठकबाट टुङ्गो लगाइनेछ ।
यसैबीच एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । भण्डारीलाई पार्टीमा अध्यक्षपछिको दोस्रो वरीयता दिने निर्णय गरिएको एमालेले जनाएको छ ।








