८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल

सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल
अ+ अ-
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले असोज ९ देखि ११ गतेसम्म सम्भावित भारीदेखि अति भारी वर्षा, बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सुरक्षा सतर्कता अपनाउन आम नागरिकसँग अपिल गरेको छ ।

पार्टीले बिहीवार विज्ञप्ति जारी गर्दै जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको पूर्वी भाग अर्थात् उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय मौसमी प्रणालीका कारण नेपालका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, गेग्रान बाढी र डुबानको जोखिम रहेको तथा उच्च हिमाली क्षेत्रमा हिमपात र सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने पार्टीले जनाएको छ ।

विशेषगरी नदी तथा खोलानाला आसपास, पहिरोको जोखिमयुक्त पहाडी तथा भिराला भूभाग, डुबान हुनसक्ने क्षेत्र र उच्च हिमाली क्षेत्रमा थप सतर्कता अपनाउन पार्टीले आग्रह गरेको छ । केही समयअघि रसुवा–भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित समुदाय अझै कठिन अवस्थामा रहेकाले पुनः प्राकृतिक प्रकोपको सम्भावित जोखिमप्रति गम्भीर बन्नुपर्ने पार्टीको भनाइ छ ।

नेपाली कम्युनिस्ट पार्टीले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा तथा हिँडडुल नगर्न, लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र नदी–खोला किनार तथा बाढी–पहिरोको जोखिम भएका क्षेत्रमा नजान नागरिकलाई आग्रह गरेको छ । जोखिमयुक्त स्थानमा रहेकाहरूलाई समयमै सुरक्षित स्थानमा जान तथा पशुचौपाया, औषधि, महत्वपूर्ण कागजात, खाद्यान्न र अन्य आवश्यक सामग्री सुरक्षित राख्न पनि अपिल गरिएको छ ।

त्यसैगरी बालबालिका, ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला र बिरामीलगायत संवेदनशील समूहको सुरक्षामा विशेष ध्यान दिन सबै तहका सरकार र सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

पार्टीले आफ्ना सबै तहका कमिटी, जनवर्गीय संगठन, नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई सम्भावित विपद्को अवस्थामा खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण, राहत र आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहन आह्वान गरेको छ । स्थानीय पार्टी संरचनालाई स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय, रेडक्रस लगायतका संस्थासँग समन्वय गरी जोखिमसम्बन्धी सूचना संकलन तथा प्रवाह गर्न र पूर्वसूचना जनसमुदायसम्म पुर्‍याउन निर्देशन दिइएको छ ।

पार्टीले अपुष्ट सूचना तथा अफवाहमा विश्वास नगर्न र नफैलाउन आग्रह गर्दै आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेको छ ।

आपतकालीन अवस्थामा जल तथा मौसम विज्ञान विभागको ११५५, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, गृह मन्त्रालयको राष्ट्रिय विपद् प्रतिकार्य समन्वय नम्बर ११४९ तथा विपद् हेल्पलाइन १२३४ मा सम्पर्क गर्न पार्टीले आग्रह गरेको छ । साथै, नजिकको स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थापित ‘विपद् व्यवस्थापन डेस्क’सँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले विपद्को सम्भावित जोखिमका बेला जनताको जीवन रक्षा, पूर्वतयारी, सूचना आदानप्रदान, समन्वय र सहयोगलाई प्राथमिकता दिँदै सबै राजनीतिक दल, तीन तहका सरकार, सुरक्षा निकाय, संघसंस्था, नागरिक समाज, स्वयंसेवक तथा आम नागरिकलाई एकताबद्ध भएर विपद् जोखिम न्यूनीकरणमा योगदान गर्न आह्वान गरेको छ ।