काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले संवैधानिक निकायका पदाधिकारीले तलबसँगै बैठक, अन्तर्वार्ता लगायतका नियमित कामका लागि छुट्टै भत्ता लिने व्यवस्था हटाउनुपर्ने बताउनुभएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा बोल्दै उहाँले कार्यालयको नियमित कामका लागि छुट्टै भत्ता दिनु उपयुक्त नभएको बताउनुभयो।
सांसद सिंहले कार्यालय समयमै हुने नियमित बैठकका लागि समेत पदाधिकारीले छुट्टै भत्ता लिने गरेको भन्दै यस्तो व्यवस्था दोहोरो सुविधामा पर्ने बताउनुभयो। उहाँले लोक सेवा आयोगका अध्यक्ष तथा सदस्यले लिखित परीक्षापछि हुने अन्तर्वार्ताका लागि समेत छुट्टै भत्ता पाउने व्यवस्था रहेको उल्लेख गर्नुभयो।

त्यस्तै, निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनका समयमा समेत छुट्टै भत्ता लिने गरेको भन्दै निर्वाचनका क्रममा आयोगअन्तर्गत हुने खर्च तथा भत्ताको व्यवस्थाको समीक्षा आवश्यक रहेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “अफिस समयमा नै पदाधिकारीहरू बैठकबापत छुट्टै फेरि भत्ता लिन्छन्। त्यो भत्ता सिस्टम पनि दोहोरो सुविधामा पर्छ। लोकसेवा आयोगका सदस्य या अध्यक्षहरूले लिखित परीक्षाको अन्तर्वार्ताको छुट्टै भत्ता लिने प्रावधान छ। निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनमा फेरि छुट्टै भत्ता लिन्छन्।”
लोक सेवा आयोग र निर्वाचन आयोग दुवै राज्य व्यवस्था तथा सुशासन समितिको कार्यक्षेत्रमा पर्ने भएकाले ती निकायका पदाधिकारीको पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्था स्पष्ट र व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
सांसद सिंहले तलबसँगै विभिन्न शीर्षकमा अतिरिक्त भत्ता लिने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताउँदै कानून निर्माण गर्दा समयसापेक्ष तथा देश र जनताको हितलाई ध्यान दिनुपर्ने धारणा राख्नुभयो।







