काठमाडाैँ । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका–८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री पक्की सडकखण्डमा लु.५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको हो ।
प्रहरीका अनुसार २०८३ असोज ८ गते बिहान करिब ९ः१५ बजे भएको दुर्घटनामा सन्धिखर्क नगरपालिका–८ काउली चौपारी पकले निवासी अन्दाजी ३५/३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको हो ।
ट्याक्टर सडकबाट तल खसेपछि गम्भीर घाइते भएका विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन ।
घटनाबारे थप अनुसन्धानका लागि घटनास्थलमा SOCO सहितको प्रहरी टोली खटिएको छ । दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।