काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद स्मृति सेञ्चुरीले जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग गर्नुभएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद सेञ्चुरीले कानूनसम्मत प्रक्रिया पूरा गरी बन्दी युवाहरूलाई दशैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

आन्दोलनमा सहभागी भएकै आधारमा तथा क्यामेरामा अनुहार देखिएकै भरमा युवाहरूलाई लामो समयदेखि थुनामा राखिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । केही दिनअघि सदनमा सहिदकी आमाले न्यायका लागि बगाएको आँसु स्मरण गर्दै सांसद सेञ्चुरीले बन्दी युवाहरूको विषयमा सरकारको जवाफदेहितामाथि प्रश्न उठाउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोही सडकबाट सदनसम्म आइपुगे, तर आन्दोलनमा सहभागी युवाहरू अझै आफ्नो घरको आँगनसम्म पुग्न पाएका छैनन् । हामीले पटक–पटक सम्बन्धित मन्त्रालयमा कुरा पुर्यायौँ र सरकारको ध्यानाकर्षण गरायौँ, तर यो विषय अझै किन टुङ्गेन ?’
सरकार कुन प्रक्रियामा अड्किएको हो र कसको निर्णयको पर्खाइमा रहेको हो भन्ने विषय तत्काल स्पष्ट पार्न पनि उहाँले माग गर्नुभयो ।
दशैँको समयमा देशभर खुशीयाली छाउने भए पनि केही परिवार आफ्ना सन्तान घर फर्किने प्रतीक्षामा पीडामा रहेको उल्लेख गर्दै सांसद सेञ्चुरीले मानवीय संवेदनाका आधारमा समेत बन्दी युवाहरूको रिहाइ आवश्यक रहेको बताउनुभयो । कानूनले अनुमति दिएको अवस्थामा सरकारले उदारता देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो।







