काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि डुसान बोबक्याट इन्डिया प्रालिले नेपाल सरकारलाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका विभिन्न उपकरण सहयोग गरेको छ ।
बाढीबाट जनजीवन, घर, सडक तथा महत्वपूर्ण पूर्वाधारमा पुगेको क्षतिलाई मध्यनजर गर्दै कम्पनीले उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक उपकरण उपलब्ध गराएको हो ।
कम्पनीले चार थान बोबक्याट मिनी एक्स्काभेटर, दुई थान ब्याकहो लोडर, तीन थान स्किड स्टियर लोडर र छ थान टावर लाइट सहयोग गरेको जनाएको छ । यी उपकरण भग्नावशेष हटाउने, उत्खनन गर्ने, अवरुद्ध क्षेत्रमा पहुँच पुर्याउने, सडक पुनःस्थापना गर्ने तथा अन्य आपत्कालीन कार्यमा प्रयोग गरिने जनाइएको छ ।
नेपालका लागि अधिकृत विक्रेता एफ.जी. इन्कर्पोरेटेड प्रालिको सहकार्यमा उपकरणको आवश्यक सर्भिस तथा तयारी गरी सञ्चालनका लागि हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
उपकरणहरू एफ.जी. इन्कर्पोरेटेड प्रालिका अध्यक्ष पवनकुमार गुप्ता, प्रबन्ध निर्देशक केदार लामिछाने, निर्देशक पारितोष गुप्ता र विपिन लामिछानेले संयुक्त रूपमा एक समारोहबीच नेपाल सरकारका गृहमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
उपकरण हस्तान्तरण गर्दै कम्पनीले विपद् उद्धार, राहत, पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणका कार्यमा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । साथै, विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका प्रयासमा निरन्तर सहयोग गर्ने जनाएको छ ।








