काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको छ। घटनामा जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन्।
नेपालगञ्जबाट १३ जना यात्रु लिएर जुफाल पुगेको जहाज बिहान करिब ८ः२५ बजे अवतरण गर्ने क्रममा समस्या आएको हो। अवतरणका बेला जहाजको पछाडितर्फ दायाँपट्टिको एउटा पांग्रा खुस्किएर बाहिरिएपछि विमानस्थलमा केही समय सावधानी अपनाइएको थियो।
जहाजमा सात विदेशी र छ नेपाली नागरिक सवार थिए। यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेको बताइएको छ। उनीहरू सबै सुरक्षित रहेको सम्बन्धित निकायले जनाएको छ।
घटनापछि जहाज धावनमार्गमै रहेको छ भने प्राविधिक टोलीले जहाजको अवस्थाबारे जाँच गरिरहेको छ। प्रारम्भिक रूपमा पांग्रामा सामान्य प्राविधिक समस्या देखिएको जनाइएको छ।
जहाजको प्राविधिक परीक्षणपछि मात्रै नियमित उडान सञ्चालनका सम्बन्धमा आवश्यक निर्णय गरिने बताइएको छ।
तस्वीर : नेपाल फाेटाे सर्भिस ।








