काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीबाट भएको क्षति र त्यसपछिको उद्धार तथा पुनर्निर्माणबारे आज प्रतिनिधि सभालाई जानकारी गराउने भएका छन् ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा पुर्याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका विषयमा मन्त्री श्रेष्ठले प्रतिनिधि सभाको बैठकलाई जानकारी गराउन लागेका हुन् ।
बाढीबाट एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने ठूलो मानवीय क्षतिसमेत भएको छ । बाढीपछि ऊर्जा मन्त्रालयले गरेका काम तथा आगामी कार्ययोजनाबारे मन्त्री श्रेष्ठले संसद्लाई जानकारी गराउने उनका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले बताए ।
उनका अनुसार मन्त्री श्रेष्ठले संसद्मा सम्बोधनका लागि सभामुख डोलप्रसाद अर्यालसँग समय लिइसकेका छन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।








