काठमाडौँ: काठमाडौँमा नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला जारी छ । भेलाको आज तेस्रो दिन हो । सो तीनदिने भेलाको त त्यति खासै आकर्षण होइन, किनभने सो भेलामा सहभागी पात्रहरु प्रायः कांग्रेसका ‘टेष्टेड’ मुहार नै हुन् । यी मुहारप्रति अबको कांग्रेसमा त्यतिधेरै आसा अपेक्षा पलाउने वाला पनि देखिँदैन ।
तर, पनि सो भेलामा परिमार्जित रुपमा उपस्थित पूर्व सभापति शेरबहादुर देउवाको हाउभाउ, बोली, प्रस्तुती र उनले लिने नीतिका विषयमा भने मानिसहरुको चासो बढ्दै गएको देखिएको छ ।
उनी विशेष महाधिवेशनमार्फत् गलहत्याइएका नेता हुन् । गगन विश्वप्रकाशहरुले विशेष महाधिवेशनको आयोजना गरी एक प्रकारले भन्ने हो भने कांग्रेस पार्टी कब्जा नै गरेका हुन् । उनीहरुले गत पुसमा गरेको सो महाधिवेशन मार्फत् सभापति र सबैजसो पदाधिकारी नै आफ्ना ढंगले घोषणा गरेका थिए ।
देउवा पक्षले पार्टी कब्जा गरिएको सो शैलीको विरोध गर्यो । निर्वाचन आयोगमा समेत निवेदन दियो । तर आयोगले पनि गगन थापाको नेतृत्वको कांग्रेसलाई नै मान्यता दियो । त्यसपछि पनि देउवा पक्ष सर्वोच्च अदालत गयो, अदालतले पनि निर्वाचन आयोगकै निर्णय सदर गर्यो ।
त्यसपछि देउवा एक प्रकारले मौन जस्तै थिए । उनले सो महाधिवेशनपछि पनि खासै आफ्नो धारणाका रुपमा केही कुरा बाहिर ल्याएनन् । बरु उनको कार्यबाहक बसेर पार्टी सञ्चालन गरिरहेका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस पार्टीको मान्यताका लागि सर्वाेच्च अदालतमा रिट पनि दायर गरे ।
त्यस लगत्तै गत फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाई बहुमत ल्याउँदा कांग्रेस बल्ल बल्ल प्रमुख प्रतिपक्षी दल बन्न सक्यो । यहाँसम्म कि सभापति गगन थापा नै निर्वाचन हारे । कांग्रेसको हार इतिहासकै सबैभन्दा लज्जास्पद भयो ।
त्यसपछि उपचारका लागि विदेशिएका शेरबहादुर देउवा गत २८ गते मात्र स्वदेश फर्किए । उनी स्वदेश फर्किएपछि सुरु भएको छ नेपालको राजनीतिमा एक प्रकारको कौतुहलताको अवस्था । किनभने देउवा दम्पत्तिलाई वर्तमान सरकारले पक्राउ गर्न पूर्जी नै जारी गर्यो । उनी विदेश भएकाले उनलाई झिकाउनका लागि रेड कर्नर नोटिस नै जारी गर्न सरकारले विशेष अनुरोध गरेको भए पनि इन्टरपोलले मानेन ।
यस्तो अवस्थाका देउवा आफैँ स्वदेश फर्किए । विमानस्थलमा भव्य स्वागत पनि भयो । उनले सरकारलाई गाली पनि गरेका छैनन्, नत सभापति गगनलाई नै केही भनेका छन् । तर, आफूले सर्वाेच्च अदालतबाट न्याय पाउने कुरा भने बताइरहेकै छन् । कांग्रेस एक हुने कुरा पनि बताएका छन् ।
त्यो भन्दा पनि अर्काे रमाइलो कुरा त के देखिएको थियो भने विमानस्थलसम्म निकै नरम देखिएका देउवा इतर पक्षको भेला आयोजना गरिएको भेन्यूमा पुगेपछि एक्कासी कड्किएका थिए । उनले राजा ज्ञानेन्द्रले त त्यो समयमा केही गर्न नसकेका आफूलाई अहिले कसैले पनि केही गर्न नसक्ने बताएका थिए । उनले त्यो भनाई कसलाई लक्षित गरेका थिए भन्ने कुरा स्पष्ट नभएपनि वर्तमान सरकारले आफूलाई केही गर्न नसक्ने सन्देश चाहिँ दिन खोजेकै थिए ।
जेनजी आन्दोलनमा देउवा दम्पत्तिमाथि निर्धात कुटपिट नै भएको थियो । उनको घर जलाइएको थियो र त्यसपछि बनेका सरकारहरुले बारम्बार विभिन्न बहाना खोजेर उनीहरुलाई जेल हाल्न खोजेकै हुन् । यहाँसम्म कि पक्राउका लागि इन्टरपोल प्रहरी समेत वर्तमान सरकारले गुहारेकै थियो ।
तर यी कुनै पनि सम्भव नभएपछि अब देउवा आफैँ राजनीतिक सन्यासमा जान सक्ने आँकलन धेरैको थियो । हुनत त्यस बाहेकको विकल्प पनि केही थिएन । किनभने न उनलाई पार्टीमा स्थान थियो र नत अब निर्वाचनमा उठ्ने उमेर या अवस्था नै छ जस्तो लाग्दैथियो ।
तर अकस्मात स्वदेश फर्किएका देउवाको त्यो स्तरमा विमानस्थलमा स्वागत हुनु र अहिले पार्टीको इतर पक्षको भेलाकै नेतृत्व गर्नुले भोलिको कांग्रेसमा केही हलचल आउनसक्ने अवस्थाको अनुमान भने गर्न थालिएको छ ।
अर्काे तर बडो महत्वपूर्ण कुरा के पनि हो भने उनी स्वदेश किन र के कस्तो एजेण्डा बोकेर आएका छन् भन्ने पनि हो । उनी हङ्कङमै रहँदा विभिन्न विदेशी शक्तिहरुसँग नेपालको राजनीतिक परिवर्तन र भावी दिशा आदिका बारेमा भेटघाट र परामर्श गरिरहेको भन्ने समान्य अनुमान यहाँको राजनीतिक बृत्तमा चलेकै थियो । यसबीचमा उनको भेटघाट र परामर्श भारतीय पक्षसँग पनि भएको र जसले नेपालमा हिन्दू धर्मको एजेण्डा स्थापित गराउनका लागि उनीसँग एक प्रकारको सहमति जस्तै गरेको भन्ने चर्चा पनि हुने गरेको थियो ।
यो एजेण्डालाई अघि सार्नेहरुसँग आजको देउवाको घोषणा कुनै न कुनै रुपमा मेल खान जाने पनि देखिएको छ । किनभने आज देउवाले इतर पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा आफू हिन्दू भएको कुरा बडो जोडतोडका साथ घोषणा नै गरेका थिए । त्यो पनि एक पटक नभएर तीन तीन पटकसम्म आफू हिन्दू भएको कुरा उनले सगौरव स्वघोषणा गरेका थिए ।
उनको यही घोषणलगत्तलै सो भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय पनि गरेको छ । साउन २९ देखि सुरू भई आज सकिएको बेलाले ५ वटा निर्णय गरेको छ र त्यसको एउटा जोड हिन्दू धर्ममा देखिएको छ ।
जसमा धर्मबारे यस्तो उल्लेख छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ ।’
सरसरती हेर्दा देउवाले आफू हिन्दू भएको घोषणा गरेको घट्ना कुनै नौलो होइन, असामान्य पनि छैन । किनभने उनी हिन्दू नै हुन्, अर्काे कुनै नयाँ धर्म अनुशरण गरेर आज घोषणा गरेका पनि होइनन् । तर, अहिलेको समय, भूराजनीतिक संवेदनशीलता र दुई तिहाइ बहुमतको सरकार भएपनि नेपालमा बढ्दै गएको राजनीतिक तरलताको यो अवस्थामा उनको यो घाषणाले राजनीतिक कोर्ष अर्काै केही पनि लिन सक्ने अनुमान भने राम्रैसँग गर्न सकिन्छ ।











