२८ श्रावण २०८३, बिहीबार
,
Latest
शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई अर्थ समितिको निर्देशन कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा स्वदेश फर्किएलगत्तै देउवाले भने: शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ नागरिकलाई पर्याप्त खानेपानी उपलब्ध गराउन तीन तहको कार्ययोजना बनाउन निर्देशन स्थानीय तहमा बैंकको शाखा विस्तार गरेर मात्रै वित्तीय पहुँच नपुग्ने रहेछः अर्थसचिव उपाध्याय जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु ग्यास वितरण सहज बनाउन काठमाडौं उपत्यकामा सादा पोसाकका प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमति र आन्तरिक सबलीकरण अनिवार्य’–पूर्वमुख्यसचिवहरू



अ+ अ-

काठमाडाैँ  । सरकारका तीन पूर्वमुख्यसचिवहरूले नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमतिको अभाव तथा आन्तरिक क्षमता अभिवृद्धि नगरी अन्तर्राष्ट्रिय संघ–संस्थाको सदस्यता र वैदेशिक परियोजनामा निर्भर हुने प्रवृत्तिले मुलुकलाई थप जोखिममा पार्न सक्ने बताउनुभएको छ ।

नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा पूर्वमुख्यसचिवहरू लिलामणि पौड्याल, शंकरदास वैरागी र एकनारायण अर्यालले नेपालको परराष्ट्र नीतिमा असंलग्नताको सान्दर्भिकता, सीमा व्यवस्थापन, विकास कूटनीति र राष्ट्रिय सहमतिका विषयमा स्पष्ट दृष्टिकोण आवश्यक रहेकोमा जोड दिनुभयो ।

पूर्वमुख्यसचिव लिलामणि पौड्यालले पछिल्लो समय चर्चामा आएको ‘बहु–संलग्नता’ अवधारणाप्रति संशय व्यक्त गर्दै नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय हित, सुरक्षा र रणनीतिक स्वायत्ततालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । उहाँले नेपाल–भारत खुला सीमाबाट उत्पन्न चुनौतीलाई छिमेकीको प्रतिक्रिया के होला भन्नेभन्दा पनि राष्ट्रिय हित र व्यावहारिक आवश्यकताका आधारमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले विकास कूटनीतिलाई विकास सहायता प्राप्तिमा मात्र सीमित गर्न नहुने बताउँदै अन्तर्राष्ट्रिय सम्बन्धका सबै आयामलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सके मात्र विकास कूटनीति सफल हुने उल्लेख गर्नुभयो । असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता अझै कायम रहेको भन्दै उहाँले ‘बहु–संरेखण’को अवधारणा के हो, यसको सीमा र आधार के हुन् भन्ने विषय स्पष्ट हुनुपर्ने बताउनुभयो ।

पूर्वमुख्यसचिव शंकरदास वैरागीले राष्ट्रिय क्षमता विकास नगरी अन्तर्राष्ट्रिय संघ–संस्थाको सदस्यता लिँदैमा मुलुक विकसित नहुने बताउनुभयो । उहाँले विश्व व्यापार संगठन (डब्लुटिओ) को सदस्य बनेपछि नेपालको आर्थिक कायापलट हुने अपेक्षा गरिए पनि आन्तरिक प्रतिस्पर्धात्मक क्षमता कमजोर हुँदा त्यसअनुसारको व्यापारिक उपलब्धि हासिल हुन नसकेको उदाहरण प्रस्तुत गर्नुभयो ।

वैरागीले मानव पुँजीको तीव्र पलायन र रोजगारी सिर्जना गर्न नसक्नु नेपालको प्रमुख चुनौती भएको बताउनुभयो । वैदेशिक सहायता तथा ठूला परियोजनाका प्रस्ताव आउँदा तिनको रणनीतिक प्रभाव र राष्ट्रिय हितबारे पर्याप्त विश्लेषण गर्ने परम्परा कमजोर रहेको उहाँको भनाइ थियो ।

एमसीसी र बीआरआईजस्ता परियोजनालाई नेपालले अत्यधिक राजनीतिकरण गरेको उल्लेख गर्दै उहाँले आफ्नै राष्ट्रिय दृष्टिकोण र कथ्य निर्माण गर्नुभन्दा अरूका एजेण्डा पछ्याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । परराष्ट्र नीतिको सफलताका लागि आन्तरिक सबलीकरण, सामाजिक सद्भाव र राष्ट्रिय एकता अनिवार्य रहेको उहाँको भनाइ थियो ।

पूर्वमुख्यसचिव एकनारायण अर्यालले नेपालको परराष्ट्र नीतिमा राजनीतिक दलहरूबीच साझा सहमतिको अभाव रहेको बताउनुभयो । एमसीसी, बीआरआई र तिब्बतजस्ता संवेदनशील विषयमा राजनीतिक नेतृत्वबाट फरक–फरक तथा विरोधाभासपूर्ण धारणा आउने गरेको उल्लेख गर्दै उहाँले यसले मुलुकमा भूराजनीतिक हस्तक्षेपको जोखिम बढाएको बताउनुभयो ।

सरकार परिवर्तनसँगै वैदेशिक सम्बन्धका प्राथमिकता पनि परिवर्तन हुने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै अर्यालले सरकार र प्रधानमन्त्री परिवर्तन हुनु स्वाभाविक भए पनि राष्ट्रिय परराष्ट्र नीतिका आधारभूत पक्ष परिवर्तन हुन नहुने बताउनुभयो ।

छिमेकी मुलुकका भ्रमणलाई समेत राजनीतिक दृष्टिले फरक–फरक रूपमा व्याख्या गर्ने प्रवृत्तिले नेपालको परराष्ट्र नीतिमा स्पष्टता र स्थायित्वको कमी देखाएको उहाँको भनाइ थियो । परराष्ट्र नीतिलाई राष्ट्रिय सहमतिको दस्तावेज बनाउनुपर्ने र सबै राजनीतिक दलले राष्ट्रिय हितमा आधारित एउटै आधारभूत नीति स्वीकार गर्नुपर्ने उहाँले बताउनुभयो ।

पूर्वमुख्यसचिवहरूले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर सरकार, राजनीतिक दल र नागरिक समाजबीच साझा समझदारी निर्माण गर्नुपर्ने तथा परराष्ट्र नीति सञ्चालनका लागि प्रभावकारी र साझा कूटनीतिक संयन्त्र आवश्यक रहेकोमा जोड दिनुभयो ।




भर्खरै