काठमाडौं । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एचआइभी एड्सजस्ता घातक रोग परीक्षण गर्ने ‘सिडी फोर’ मेसिन नहुँदा बिरामीको उपचारमा समस्या भएको छ । विगत ६ महिनादेखि सरुवा रोग अस्पतालमा ‘सिडी फोर’ मेसिन छैन ।
एड्स लागेका थुप्रै व्यक्ति टेकु अस्पतालमा भर्ना भएका छन् । तर, ‘सिडी फोर’ मेसिन नहुँदा उपचारमा समस्या देखिएको अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलाले बताए । ‘१०० भन्दा तल सिडी फोर गए थप नयाँ रोग चिकित्सकले खोज्ने गर्छन् । एचआइभीका कारण शरीरका कोषिका घटेर जान्छ । त्यसको मोनिटरिङ (जाँच) गर्न सिडी फोर मेसिन आवश्यक हुन्छ,’ डा. बास्तोलाले भने ।
रगतमा सिडी फोरको मात्रा पाँच सयदेखि १५ सय परक्युबिक मिलिलिटरसम्म हुन्छ । यो घटेर दुई सय परक्युबिक मिलिलिटर भएमा एचआइभी एड्स जनाउने अवसरवादी रोग हेरिन्छ । त्यसैगरी, एक सय परक्युबिक मिलिलिटरभन्दा तल सिडी फोर गए थप नयाँ रोगका बारेमा चिकित्सकले खोजी गर्नेछन् । बास्तोलाका अनुसार कसैको सिडी फोर ३५० भन्दा कम भए कोट्रिमोक्साजोल (एन्टिबायोटिक) दिने गरिन्छ ।
चिकित्सकका अनुसार एचआइभी संक्रमितपछि आवश्यकतानुसार रक्त परीक्षण गराई सिडी फोर गणना गरिन्छ । रगतमा सिडी फोरको गणना ३०० सयभन्दा कम देखिएमा संक्रमितले एआरबी एन्टी रेडरो भाइरल औषधि सेवन गर्नुपर्छ ।, समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।