१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृति संरक्षण गर्न रोपाइँ जात्रा



अ+ अ-

मिक्लाजुङ । रोपाइँ गर्दा बेठी लगाउने प्रचलन हराउँदै गएको हुँदा संस्कृति संरक्षणको निम्ति भन्दै पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा रोपाइँ जात्रा देखाइएको छ । धान रोपाइँ गर्दा पहिल्यै गाउँघरमा बेठी लगाउने प्रचलन रहेको तर अहिले उक्त प्रचलन हराउँदै गएको हुँदा रोपाइँ जात्रा देखाइएको वडाध्यक्ष गोपाल गुरुङले बताए ।

रानीटार माविका विद्यार्थीले प्रदर्शन गरेको उक्त रोपाइँ जात्रामा १० वटा नृत्य प्रस्तुत गरिएको थियो । विभिन्न जातजातिका पहिरन लगाएर रोपार, बाउसे, हलीले रोपाइँ गरेका थिए । विसं २०३८ भदौ ४ गतेबाट गर्न थालिएको रोपाइँ जात्रा ०५४ सालमा तत्कालीन माओवादीको द्वन्द्वकालीन समयमा गर्न नसकिएको रानीटार माविका शिक्षक सूर्य अधिकारीले बताए ।

पछि द्वन्द्व सकिएपछि पुनः २०६४ सालदेखि रोपाइँ जात्रालाई निरन्तरता दिइएको उनले बताए । इतिहासमा सीमित हुन लागेको बेठी लगाएर गरिने रोपाइँ लोप हुन लागेपछि नयाँ पुस्ताले पनि सिकुन् भनेर उक्त रोपाइँ जात्रा देखाइएको रानीटार माविका प्रधानाध्यापक भक्त राईले बताए ।

विसं २०३८ देखि तत्कालीन मुवा बडामहारानी रत्नराज्य लक्ष्मी शाहको जन्मोत्सवको अवसरमा बाल दिवस मनाइँदा भदौ ४ गते रोपाइँ जात्रा गर्न थालिएको स्थानीय बताउँछन् । गणतन्त्र स्थापनापछि मिति सारेर भदौ २९ गते बाल दिवसको दिन रोपाइँ जात्रा निकालिएको रोपाइँ जात्रा व्यवस्थापन समितिका सचिव रुपेन तामाङ बताउछन् ।

रोपाइँजात्रा उद्घाटन कार्यक्रममा फिदिम नगर प्रमुख ओनाहाङ नेम्वाङले लोप हुन लागेको बेठी लगाएर गरिने रोपाइँ संरक्षणको निम्ति महत्वपूर्ण कार्य भएको बताए ।