१९ श्रावण २०८३, मंगलवार
,
Latest
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, एकतर्फी आवागमन अवरुद्ध राजनीतिक बिटका पत्रकारसँग शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अन्तरक्रिया गर्दै सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न जिल्ला प्रशासन कार्यालय कास्कीकाे आग्रह कान्तिपुर सेभिङ र पशुपतिसहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार बाक्लो कुहिरोका कारण टर्कीको बोस्फोरस जलमार्गमा जहाज आवतजावत बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढल्यो ४०० वर्ष पुरानो भनिएको जुम्लाको देवदारको रुख



प्रतिकात्मक तस्वीर ।
अ+ अ-

जुम्ला। जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँमा रहेको विशाल देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित भएका छन् ।

पुस्तौँदेखि आस्था, छायाँ र प्रकृतिको धरोहरका रूपमा चिनिएको रूख ढलेसँगै स्थानीयले एउटा इतिहास नै समाप्त भएको अनुभूति गरेका छन् । स्थानीयवासीले उक्त रुख चारसय वर्ष पुरानो भएको अनुमान गरेका छन् । यसको वैज्ञानिक पुष्टि भने हालसम्म भएको छैन ।

स्थानीय ६६ वर्षीय कालिका भट्टराईका अनुसार धार्मिक आस्थाको प्रतीक मानिँदै आएको उक्त देवदार यही साउन १७ गते आइतबार ढलेको हो । स्थानीय ७४ वर्षीय दीपबहादुर हमालका अनुसार देवदार दक्षिण एसियाकै सबैभन्दा बलियो र दीर्घायु काठमध्ये एक हो । कर्णालीको स्थानीय भाषामा यसलाई ‘द्यार’ भनिन्छ । योगी नरहरिनाथको भनाइ उद्धृत गर्दै उहाँले पाण्डवकालदेखि नै यो रूख अस्तित्वमा रहेको भन्ने जनविश्वास रहेको छ ।

विसं २०३२ मा रूखको टुप्पो भाँचिएपछि त्यहीँबाट पानी पस्दै जरा कुहिएको र त्यसकै कारण अहिले ढलेको हुनसक्ने उहाँको अनुमान छ ।

तिला गाउँपालिका–४ का ८४ वर्षीय वीरबहादुर सिंहले देवदारको आयु चार हजार वर्षसम्म हुने विश्वास रहेको बताउनुभयो । “एक हजार वर्ष बढ्न, एक हजार वर्ष उभिन, एक हजार वर्ष ढल्न र अर्को एक हजार वर्ष कुहिन लाग्छ”, भन्ने पुरानो भनाइ सुनाउँदै उहाँले देवदारलाई अत्यन्त टिकाउ र बहुउपयोगी काठका रूपमा चिनिने बताउननुभयो ।

स्थानीयवासीका अनुसार करिब चार मिटर गोलाइ र ४५ मिटर उचाइ भएको उक्त रूख सडकतर्फ ढल्दा टेलिफोन तथा विद्युत्को खम्बा र धानबालीमा सामान्य क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।

स्थानीय निराजन गौतमले गाउँको छायाँ, आस्था र प्राकृतिक सम्पदाका रूपमा रहेको रूख ढलेपछि सो स्थानमा मन्दिर वा चौतारी निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।

डिभिजन वन कार्यालय, जुम्लाका प्रमुख भरतबहादुर बूढाथोकीले कर्णाली राजमार्गअन्तर्गत कुदारी–लुम्सेरा सडकखण्डमा रहेको देवदार ढलेको जानकारी प्राप्त भएको बताउनुभयो ।

उहाँले ढलेको रुखको वास्तविक उमेर, प्राकृतिक विशेषता र गुणबारे वैज्ञानिक अध्ययन गरिने बताउनुभयो । उहाँका अनुसार धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको देवदार कोणधारी वनअन्तर्गत पर्ने महत्वपूर्ण प्रजाति हो ।

लुम्सेरामा एउटा रूख मात्र ढलेको छैन, गाउँलेको सम्झना, आस्था र पुस्तौँदेखि जोगाइँदै आएको प्राकृतिक सम्पदाको एउटा जीवित इतिहास पनि ढलेको अनुभूति स्थानीयले गरेका छन् ।  रासस