११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजस्व प्रणालीमा व्यापक सुधार गर्दै १६ खर्ब रुपैयाँको लक्ष्य प्राप्त गर्न ‘मिसन मोड’ मा काम गर्न निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालयमा सोमवार आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले स्पष्ट लक्ष्य, मापदण्ड र समयसीमा तोकेर अघि बढ्न कर्मचारीहरूलाई आह्वान गर्नुभएको हो ।

अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रम र बजेटमा समेत ‘मिसन मोड’ को अवधारणा आएको उल्लेख गर्दै राजश्व प्रशासनलाई यसको सफल उदाहरणका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र उपभोगको ट्रेन्ड हेर्दा राजस्व संकलनको लय बिग्रिएको भन्दै उहाँले राजस्व चुहावट नियन्त्रण र दायरा विस्तारमा लाग्नुपर्ने बताउनु भयो । सहरी क्षेत्रको अर्थतन्त्र बलियो देखिए पनि सोही अनुपातमा राजस्व संकलन नभएकोमा उहाँले चासो व्यक्त गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले कर्मचारीहरूलाई ‘कम्फर्ट जोन’ बाट बाहिर निस्केर काम गर्न निर्देशन दिनुभयो ।  लक्ष्यको नजिक पुगेपछि निष्क्रिय हुने प्रवृत्ति अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो । भ्रष्टाचार र अनियमितताप्रति ‘जिरो टलरन्स’ को नीति अख्तियार गरिने स्पष्ट पार्दै उहाँले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र बदमासी गर्नेलाई कारबाही गरिने बताउनु भयो ।

करदातासँगको सम्बन्धलाई थप सुमधुर बनाउनुपर्नेमा जोड दिँदै उहाँले तर्साउने भन्दा पनि उत्प्रेरित गर्ने नीति अवलम्बन गर्न निर्देशन दिनुभयो । ठूला करदाताहरूलाई सम्मान गर्ने र उनीहरूको योगदानको कदर गर्ने नयाँ योजना ल्याइने उहाँले जानकारी दिनुभयो । कर अनुपालनका लागि करदातालाई निश्चित समय दिएर जिम्मेवार बनाउनुपर्ने उहाँको तर्क छ । चालु आर्थिक वर्षको साउन महिनादेखि नै राजश्व संकलनमा सुधारको संकेत देखिनुपर्ने भन्दै उहाँले सोहीअनुसार सक्रिय हुन कर्मचारीहरूलाई आग्रह गर्नुभयो । चाडबाड अगावै राजस्व संकलनको सकारात्मक लय समात्नसके त्यसले आगामी दिनमा थप हौसला दिने उहाँको विश्वास थियो ।

अर्थमन्त्री वाग्लेले भन्नुभयो, ‘मेरो उद्देश्य सधैं बिग पिक्चरमा केन्द्रित छ । हाम्रो मिसन १६ खर्ब स्पष्ट लक्ष्य हो । मिसन भन्नुको अर्थ लक्ष्य, सफलता–असफलताको मापदण्ड र समयसीमा तीनै कुरा स्पष्ट हुनु हो । यी तीनलाई अर्जुनदृष्टिका साथ कार्यान्वयन गर्न सक्यौँ भने सफलता हासिल गर्न सकिन्छ । जहाँ लक्ष्य अस्पष्ट हुन्छ, सफलता–असफलताको मापदण्ड स्पष्ट हुँदैन र समयसीमा तोकिँदैन, त्यहाँ अपेक्षित परिणाम आउँदैन। त्यसैले नीति, कार्यक्रम र बजेटमा पनि मिसन मोड अपनाइएको छ । यसलाई व्यवहारमा सफल बनाउन विशेषगरी राजस्व क्षेत्रमा स्पष्ट परिणाम देखाउनु हाम्रो साझा जिम्मेवारी हो ।’

अर्थमन्त्रीले निजी क्षेत्रका वास्तविक समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उत्पादनमूलक क्षेत्रका उद्योगीहरूसँग प्रत्यक्ष छलफल गरी उनीहरूका कर तथा भन्सार सम्बन्धी समस्या समाधान गरिने र वन तथा उद्योग मन्त्रालयसँग जोडिएका विषयमा पनि समन्वय गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल