काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले गणेश नेपाली मृत्यु प्रकरणका दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले मृतकका परिवारलाई क्षतिपूर्तिको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद विकले सरकारको घमण्ड र अराजकताका कारण गरिव नागरिकहरुले मर्नुपरेको जटिल अवस्थामा मुलुकमा आएको आरोप समेत लगाउनु भयो ।
उहाँले सरकारले गरिव नागरिकलाई जीँउँदै मर्नुपर्ने बाध्यात्मक अवस्था बनाईरहे नेपाली जनताले त्यसको प्रतिवाद गरेर अघि बढ्ने चेतावनी समेत गर्नुभयो ।
सांसद विकले भन्नुभयो,‘गणेश नेपाली जस्ता गरिव नागरिकहरुले जीउँदै जलेर मर्नुपरेको छ । यो देशमा सबैभन्दा सार्वभौम अधिकार सम्पन्न नेपाली जनता हुन् । हिजो पनि वीर बलभद्र, भक्ति थापाजस्तो वीरहरुको अगुवाईमा यो देश बचाएका हुन । आज पनि नेपाली जनता सार्वभौम छन । यदि यो घमण्ड र अराजकता बढदै गयो भने जनताले संविधान बमोजिम नै विद्रोह गर्न सक्दछन । यो अधिकार जनतामा निहीत छ । गणेश नेपालीको घटना पश्चात भएको मृत्युको खवरले निकै दुखी बनाएको छ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घटनाका दोषीहरुलाई कारबाही होस । मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दछु ।’
त्यस अवसरमा सांसद विकले प्रधानमन्त्री बालेन्द्र साहले राष्ट्रघाती अभिव्यक्ति दिएकाले सीमा क्षेत्रका नागरिकले दैनिक पीडा भोग्नुपर्ने अवस्था आएको जिकिर पनि गर्नुभयो ।










