काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्ने सेवाग्राहीले रु ५५ को हुलाक टिकट खरिद गरेपछि जिल्ला हुलाक कार्यालय चितवनले घरघरमै राहदानी पुर्याउने सेवा सुरु गरेको छ ।
जिल्ला हुलाक कार्यालयका प्रमुख शालिकराम बस्यालका अनुसार हाल दैनिक २० देखि ३० वटा राहदानी सेवाग्राहीको घरमै पुर्याउने कार्य भइरहेको छ ।
पहिले पत्राचार वितरणमा सीमित रहेको हुलाक सेवा अहिले पार्सल, ई–एमएस तथा राहदानीलगायतका सेवासमेत घरघरमै पुर्याउनेतर्फ विस्तार गरिएको कार्यालयले जनाएको छ ।
सरकारले जारी गरेको प्रशासनिक सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना कार्यान्वयनअन्तर्गत सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो ।
हुलाक सेवामार्फत हाल ७१ देशका ९३ गन्तव्य सहरसम्म सेवा विस्तार भएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
जिल्लाभित्र भरतपुर महानगरपालिकामा पाँच, राप्ती नगरपालिकामा चार तथा खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् ।
जिल्ला हुलाक कार्यालय तथा मातहतका कार्यालयमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी कार्यरत रहेको कार्यालयले जनाएको छ ।











