९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज विश्व एड्स दिवस: एचआइभी सङ्क्रमण दर घट्दो क्रममा



अ+ अ-

अछाम । यहाँ एचआइभी सङ्क्रमण दर घट्दो क्रममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्ला वर्षमा जिल्लामा नयाँ सङ्क्रमित पत्ता लाग्ने दर घट्दै गइरहेको हो । विगत ११ वर्षको तथ्याङ्कअनुसार जिल्लामा एचआइभी एड्सका नयाँ बिरामी फेला पर्ने दर निकै सुधारोन्मुख रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०६४/६५ मा ३४३ नयाँ सङ्क्रमित फेला परेकामा आर्थिक वर्ष ०७५/७६ मा ४३ जना मात्रै नयाँ बिरामी पत्ता लागेका स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले बताए ।

उनका अनुसार आर्थिक वर्ष ०७४/७५ मा सबैभन्दा कम १९ मात्र नयाँ सङ्क्रमित भेटिएका थिए । अछाममा आर्थिक वर्ष ०६५/६६ मा २२२, आव ०६६/६७ मा ९३, आव ०६७/६८ मा १३०, आव ०६८/६९ मा ९९, आव ०६९/७० मा ८६, आव ०७०/७१ मा ८१, आव ०७१/७२ मा ७३, आव ०७२/७३ मा ६६ र आव ०७३/७४ मा ६७ नयाँ एचआइभी सङ्क्रमित भेटिएका स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । तथ्याङ्कअनुसार जिल्लामा हाल एक हजार ५६७ एचआइभी सङ्क्रमित पत्ता लागेका छन् ।

पत्ता लागेका बिरामी पछिल्लो समय कहीँ पनि नभेटिएकाले दोहोरिएर आउने बिरामी बढी भएका हुनसक्ने ढुङ्गानाले बताए । उनका अनुसार अहिले ३७७ महिला र २६१ पुरुष सङ्क्रमित नियमित एआरटी सेवन गरिरहेका छन् । मङ्गलसेन र बयालपाटामा रहेका केयर सेन्टरमार्फत उनीहरुले एआरटी सेवन गरिरहेका जनाइएको छ । एआरटीका कारण आफूलाई निकै सहज भएको एकजना सङ्क्रमितले बताए । समाजले अपहेलना गर्ने गरेका कारण आफूहरुलाई खुल्न अप्ठ्यारो भए पनि राज्यबाट प्रदान सेवाले आफू जस्ताको दीर्घजीवनमा टेवा पुगेको उनको भनाइ छ ।

कुनै बेला एचआइभी सङ्क्रमणका कारण बदनाम भएको अछामका लागि नयाँ बिरामी भेटिने क्रम घट्दै जानु सुखद लक्षण भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक झपट ढुङ्गानाको भनाइ छ । यसबारे जनचेतनासहित बिरामी खोज्न विभिन्न स्थानमा शिविरसमेत चलाइने गरेको उनले बताए । जिल्लामा एचआइभी सङ्क्रमित भएकामध्ये पुरुष १२८ र महिला ५७ गरी १८५ को मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।