७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ

कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै

कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै
अ+ अ-

मुस्ताङ। छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी-छुसाङ खण्डको तीव्रगतिमा कालोपत्र तथा स्तरोन्नति गरिरहेको छ ।

हिउँदयामको अत्यधिक चिसो, हिमपात र गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण रोकिएको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको हो ।

नौ दशमलव आठ किलोमिटर रहेको उक्त खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । आयोजना कार्यालयले मुस्ताङको थासाङ-४ घाँसाबाट कोरला नाका र मुक्तिनाथ जोड्ने गरी कागबेनीसम्मको करिब ९८ प्रतिशत सडक कालोपत्र सम्पन्न गरिसकेको छ ।

नेपाल-चीन उत्तरी कोरला नाकासम्मको सडकलाई आवश्यक स्तरोन्नतिसहित कालोपत्र गर्ने आयोजनाको लक्ष्य छ । सोही लक्ष्यलाई अघि बढाउनका लागि गत वर्ष सङ्घीय सरकारले बजेट विनियोजन गरेको थियो ।

मुस्ताङको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको कालोपत्रसहित सडक विस्तार गर्न आयोजनाले गत वर्षको २६ असारमा टक्सार इफ्फाटा/बुद्ध जेभी कन्ट्रक्सनसँग रु २८ करोड ८७ लाख ९६ हजार लागतमा ठेक्का सम्झौता गरेको आयोजना कार्यालयले जनाएको छ । उक्त सडकलाई कालोपत्रसहित थप स्तरोन्नति गर्ने गरी दुई वर्षको सम्पन्न गरिसक्नुपर्ने अवधि तोकिएको छ ।

ठेक्का सम्झौताअनुसार कागबेनी-छुसाङ सडक विसं २०८४ असार २४ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने समय तोकिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । गत असारको अन्तिममा ठेक्का सम्झौता भएको उक्त सडकको स्तरोन्नति कार्य चालु आवको साउनदेखि सुरु गरिए पनि प्रतिकूल मौसम र निर्वाचनका कारण पाँच महिना रोकिएको उहाँले बताउनुभयो ।

आयोजना प्रमुख शर्माले हिउँदयाम सकिएर गर्मीयाम सुरु भएसँगै निर्माण कम्पनी सडक निर्माणको कार्यस्थलमा फर्किएको बताउनुभयो । उहाँका अनुसार निर्माणाधीन कागबेनी-छुसाङ खण्डको हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ । करिब ११ मिटर चौडा सडक रहने गरी आठ मिटर चौडा कालोपत्र सडक निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

कोरला नाका जोड्ने कागबेनी–छुसाङ सडकखण्डको बारागुङ मुक्तिक्षेत्र-३ ताङ्वे क्षेत्रमा कालोपत्र सडक स्टक्चरको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सागर श्रेष्ठले जानकारी दिनुभयो । सडक स्तरोन्नतिका लागि उक्त खण्डमा पाँच हजार घनमिटर ग्याबिनवाल र दुई हजार घनमिटर रिटेर्निङ वाल लगाउने कार्य सकिएको उहाँले बताउनुभयो । सडकको ग्रेड मिलाउने, आवश्यक स्थानमा ड्रेन निर्माण, ग्याबिनवाल र रेटेर्निङ वाललगायत काम भइरहेको छ ।

इन्धनको मूल्य घटेर आपूर्तिमा सहज भएमा पाँच महिनाभित्र कागबेनी-तोङ्वेसम्मको सडकमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका प्रतिनिधि श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कागबेनी-छुसाङ सडकको कामलाई तोकिएको समयमा सम्पन्न गर्न दैनिक ८० जनाभन्दा बढी जनशक्ति परिचालन भइसकेको छ ।

“सडकको स्टक्चर निर्माण तथा कालोपत्र गर्न आवश्यक उपकरण र क्रसरको व्यवस्था गरिसकेका छौँ, जतिसक्दो छिटो निर्माणलाई तीव्रता दिइनेछ”, प्रतिनिधि श्रेष्ठले भन्नुभयो, “हिउँदयाममा चिसोका कारण काम गर्न सकिँदैन, यहाँ काम गर्ने भनेको सात महिना मात्रै हो ।”

यहाँको बारागुङ मुक्तिक्षेत्र-३ स्थित कागबेनी-छुसाङ सडकखण्डमा गत असार र साउन महिनाको बाढीपहिरोले आशिंक क्षति पुर्‍याएको थियो । बाढीपहिरोले उक्त सडकको केही स्थान भाँसिएकोे छ भने केही स्थानमा सडकको बेसमा क्षति पुगेको छ ।

नेपाल-चीन बहुचर्चित उत्तरी कोरला नाकासम्मको सडकलाई थप स्तरोन्नतिसहित कालोपत्र गर्ने लक्ष्यसहित छुसाङ-घमी र घमी-कोरला खण्डलाई  दुई चरणमा गरी प्रारम्भिक वातावरण प्रभाव मूल्याङ्कनसमेत सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत अर्थ मन्त्रालयले कोरला नाकासम्मको सडकमा कालोपत्रका लागि बजेट विनियोजन हुन सकेमा उपल्लो मुस्ताङको सडकमार्ग निकै सहज हुने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गर्नुभयो । आयोजनाले छुसाङ-कोरला सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न करिब रु पाँच अर्बभन्दा बढी लागत लाग्ने अनुमान गरेको छ ।