काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिवद्धता सह्रानीय रहेको भन्दै निर्वाचन सम्पन्न गर्न दलहरुलाई सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
सिंहदरबारस्थित सर्वपक्षीय छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राज्यलाई निकास र स्थायित्व दिन राजनीतिक दलहरूले सरकारलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले संविधानविपरित सरकारले पर निर्वाचन धकेल्ने प्रयास गरे आफूहरुलाई स्वीकार्य नहुने चेतावनी समेत दिनुभयो । उहाँले घोषित मितिमा निर्वाचन हुन नसके सरकारले निर्णय गर्ने वा पुरानै संसद पुनःस्थापना हुनेप्रति सचेत समेत गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘घोषित मितिमा निर्वाचन सम्पन्न गराउने विषयमा सरकारको तर्फबाट आएको कमिटमेन्ट सराहनीय छ । हाम्रो दलको तर्फबाट यसको लागि सरकारलाई आभार व्यक्त गर्न चाहान्छु । सरकारले पनि निर्वाचनलाई वैशाख, जेठतिर लैजान खोजेको हो कि भन्ने शुरु शुरुका दिनमा आशंका थियो । अहिले त्यो ठाउँ नभएको जस्तो देखिन्छ । प्रमुख राजनीतिक दलहरु समेत चुनावी प्रक्रियामा आइसकेको हुनाले उनीहरुलाई अझै प्रोत्साहित गर्नुपर्छ । त्यसैगरी जेनजी साथिहरु समेत यो प्रक्रियामा सहभागि हुन आउनुभएको छ । यो खुशीको कुरा हो । हामी निर्वाचनको लागि सरकारलाई सहयोग गर्नको लागि तयार छौँ । तर एउटा कुरा खेल शुरु भइसकेपछि खेलका नियमहरु बिच बिचमा बदल्नु हुँदैन बदल्यौँ भने कन्फिल्क्टहरु ल्याउन सक्छ । राज्यलाई निकाश र स्थायीत्व दिनको लागि राजनीतिक दलहरुले पनि राज्यलाई सहयोग गर्नुपर्छ । तर सरकार ६ महिनाभन्दा उता संविधानविपरित जान खोज्यो भने हाम्रो समर्थन हुदैन हामीले स्पष्टसँग भनेका छौँ । यदि ६ महिनाभित्र अर्को पार्लियामेन्ट आएन भने कि सडकले निर्णय गर्छ कि पुरानै संसद पुनःस्थापना हुन्छ । यी कुरामा हामी सबै क्लियर छौँ ।’
उहाँले निर्वाचनको वातवारण निर्माणको लागि सरकारले प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसँग संवाद अगाडि बढाउनुपर्ने समेत बताउनु भयो ।










