काठमाडौं। नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले हराएको हो । जितसँगै पोखराले प्लेअफको सम्भावना कायमै राखेको छ भने कर्णाली प्लेअफको दौडबाट बाहिरिएको छ ।
२०२ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा १६७ रनमा अलआउट भयो । उसका लागि मार्क वाटले अर्धशतक प्रहार गरेपनि टोलिको हार टार्न सकेनन् । ३४ बल खेलेका उनले ५ छक्का र ४ चौकाको मद्दतले ५९ रन जोडे ।
यस्तै नजिबुल्लाह जाद्रानले २४, पवन सराफले १९, प्रीयाङ्क पान्चालले १६ रन जोड्दा सोमपाल कामीले १३ रन बनाए ।
वलिङतर्फ पोखराका ऋषि धवन र धनन्जय लक्षनले तीन-तीन तथा किरण ठगुन्ना, कुशल भुर्तेल र सन्दीप क्षेत्रीले एक-एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको पोखराले २० ओभरमा २ विकेटको क्षतिमा २०२ रन जोड्यो ।
रोसिङ्टनले शतकीय पारी खेले । उनले ५४ बलमा शतक बनाएका हुन् । ५८ बल खेलेका उनी १०८ रनमा अविजित रहे । उनले ११ चौका र ७ छक्का प्रहार गरे ।
समग्र एनपीएलमा शतक बनाउने उनी तेस्रो खेलाडी हुन् भने जारी प्रतियोगितामा दोस्रो हुन् । यस्तै जेसन रोयले ४६ तथा कुशल भुर्तेलले १८ रन जोड्दा धनन्जय लक्षन २३ रनमा अविजित रहे ।
वलिङतर्फ कर्णालीका मार्क वाट र नन्दन यादवले एक-एक विकेट लिए ।
छ खेलमा एक जितमात्र निकालेको कर्णालीको दुई अङ्क छ भने पाँच खेलमा दुई निकालेको पोखराले चार अङ्क जोडेको छ ।










