१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने

सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका

सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका
अ अ+ अ-

दमौली, (तनहुँ) । नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ । प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गाउँपालिका लागिपरेको हो ।

पृथ्वीराजमार्गबाट २० मिनेट पैदलयात्रामार्फत पुगिने सिद्धगुफाको प्रचारप्रसार गर्न सकिए धेरै पर्यटक भित्र्याउन सकिने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउनुहुन्छ । तर यसको सोचेअनुसार प्रचारप्रसार हुन नसक्दा पर्यटकको उल्लेख्य आगमन हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसको जति मात्रामा प्रचारप्रसार भयो त्यति गुफामा आउने मानिसको चहलपहल बढ्छ । यसले बन्दीपुरको पर्यटन पनि उचालिन्छ र यहाँका स्थानीयको आयआर्जन पनि बढ्छ ।”

सिद्धगुफाको प्रचारप्रसार राष्ट्रियस्तरमा गर्न आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष थापाले यसको प्रवर्द्धनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो । थापाले यस ठाउँमा रङरोगन, सिँढी मर्मत, बस्ने आरामस्थल निर्माण गरिने बताउँदै सौन्दर्यकरणको कामलाई जोड दिइएको बताउनुभयो ।

धार्मिक महत्वका हिसाबले पनि सिद्धगुफा महत्त्वपूर्ण रहेको बताउँदै अध्यक्ष थापाले यहाँ बोलबम मेला लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ सिद्धबाबाको दर्शन गर्न पाइन्छ, यहाँ दर्शन गरेपछि चिताएको कुरा पुग्छ भन्ने किंवदन्ती छ ।” देशका महत्त्वपूर्ण ठाउँमध्ये एकपटक पुग्नैपर्ने ठाउँ भनेर सिद्धगुफालाई बनाउन गाउँपालिका जुटेको उहाँले उल्लेख गर्नुभयो ।

सिद्धगुफा विकास समितिले लामो समयदेखि यसको व्यवस्थापन गर्दै आए पनि उक्त समिति सक्रिय नभएकाले गाउँपालिकाले तत्काल अधिवेशन गर्न निर्देशन दिइसकेको छ । उहाँले भन्नुभयो, “अब सिद्धगुफाको व्यवस्थापन गाउँपालिका आफैँले गर्ने सोचिरहेको छ । त्यसो हुँदा यसको एकीकृत विकास गर्न सकिन्छ ।”

गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर बजारबाट सिद्धगुफा झर्ने बाटोमा रेलिङ निर्माण, ढुङ्गा छापेर पैदलमार्ग बनाइएको छ । सिद्धगुफा विकासका लागि नवप्रवर्तन साझेदारी कोषअन्तर्गत रु एक करोड तीन लाख ९५ हजार ३०० मा यहाँ सौन्दर्यकरणको काम गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले चालु आवमा सिद्धगुफाका लागि रु १० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । स्थानीयवासी भीम घलेले सिद्धगुफाको प्रचारप्रसारमा कमी भएको बताउनुभयो । सिद्धगुफाको प्रचारप्रसार गर्न नसक्नु स्थानीयवासीको पनि कमजोरी भएको बताउँदै उहाँले भन्नुभयो, “अब सिद्धगुफाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गाउँपालिकाले पनि पहल गर्नुपर्छ ।”

सिद्धगुफा पुग्नुभएका प्रेमप्रसाद पौडेलले यस ठाउँ आकर्षक रहेको बताउनुभयो । गुफाभित्र रहेका विभिन्न आकृतिले थप मोहित बनाउने बताउँदै उहाँले भन्नुभयो, “गुफा त धेरै ठूलो रहेछ, पृथ्वीराजमार्गबाट नजिकै भएकाले यस ठाउँ उपयुक्त गन्तव्यस्थल बन्छ ।”

सिद्धगुफाको प्रचारप्रसारका लागि नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले मङ्गलबार कार्यसमितिको बैठक गुफाभित्रै सम्पन्न गरेको छ । सिद्धगुफाको प्रचारप्रसारमा जिल्लास्थित सञ्चारकर्मीले सघाउने शाखाका अध्यक्ष डिपी अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०४४ चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहद्वारा पहिलोपटक यो गुफा पत्ता लागेको थियो ।

पुरातत्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्रागकालीन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी ३५ सय वर्ष पुरानो मानिएको छ । गुफा ४५० मिटर लामो छ । सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तुहरू अक्षर मेटिएको तामाका पैसा, माटोबाट बनेको टुक्रिएको पानीको घैँटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दाह्रा र टेराकोटाको शुल्पा र सानो थालजस्तो आदि इसं १६ र १७औँ शताब्दीअघिको अनुमान गरिएको छ ।

केही भागमा पानी भए पनि घामको प्रकाश नहुने भएकाले लेउ नलाग्ने हुँदा चिप्लो पनि छैन । करिब पाँच सय मिटरभित्रसम्म हिँडेपछि गुफाको आकार झनै ठूलो छ । लगभग आठ सय मिटर लम्बाइ रहेको यो गुफाभित्र चुनढुङ्गा पग्लेर बनेका अनेकौँ आकृति हेर्न सकिन्छ । कतै भगवान्को मूर्ति त कतै चराचुरुङ्गी र जनावरका तथा विभिन्न आकृतिहरू भेटिन्छन् । रासस