काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल रायो भलेकानोसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
यस्तै, अर्को खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई उसकै घरेलु मैदानमा ४–२ गोलले हरायो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । उनले १० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ३७ औं र ७३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका लामिने यामलले गोल थपे ।
सेल्टाका सर्जिओ कारेइरा र बोर्जा इग्लेसियासले गोल गरेपनि टोलिको हार टार्न सकेनन् ।
यो नतिजापछि बार्सिलोना १२ खेलबाट २८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । रियल ३१ अंकका साथ शीर्षस्थानमा यथावत छ ।










