काठमाडौँ। आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जको भवनमा आगजनी, लुटपाट तथा प्रहरी कर्मचारीमाथि आक्रमणमा संलग्नलाई खोजतलास गर्ने क्रममा प्रहरीले भोजपुर घर भई हाल काठमाडौँको पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राईलाई सामाखुसी चोकबाट पक्राउ गरेको थियो ।
पक्राउपछि उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको समय दिएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक पवनकुमार भट्टराईले राससलाई बताउनुभयो ।
यसरी अपराधमा संलग्न फरार व्यक्तिको खोजतलास गर्ने क्रममा उनलाई नियन्त्रणमा लिई निजको कोठा खानतलासी गर्दा प्रहरीको टाइप–५४ पेस्तोल, त्यसमा लाग्ने म्याग्जिन, सात राउन्ड गोली र अन्दोलनका दिन लगाएको कपडा र जुत्तासमेत बरामद गरिएको उहाँले बताउनुभयो ।
राईमाथि हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरी वृत्त महाराजगञ्जबाट ज्यानसम्बन्धी कसुरमा मुद्दा चलेको समेत अभिलेखमा देखिएको उहाँले बताउनुभयो । रासस









