२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानलाई हराउँदै नेपाल टी–ट्वेन्टी विश्वकप छनोटको उपाधिनजिक



अ+ अ-

काठमाडौं । नेपालले टी–२०विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा ओमानलाई ३८ रनले पराजित गरेको छ । योसँगै नेपाल छनोट प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

१ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाउन सक्यो ।

सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो । ओमानले प्रतियोगितामा पहिलो पराजय भोगेको हो । नेपालको अब ८ अंक पुगेको छ भने ओमानको ६ अंक छ । नेपालले शुक्रबार हुने अन्तिम खेलमा सामाओलाई पराजित गरे प्रतियोगिता नै जित्नेछ ।

नेपाल र ओमान मैदानमा उत्रिनुअगाडि नै विश्वकपमा पुगेका थिए । नेपालको हकमा यो लगातार दोस्रो र कुल तेस्रो विश्वकप प्रवेश हो । हिजोको पहिलो २ खेलमा कतारले जापानलाई ३ विकेटले र यूएईले सामाओलाई ७७ रनले पराजित गरेका थिए ।

सोमपाल कामीले ओमानका कप्तान जतिन्दर सिंहलाई तेस्रो ओभरमै आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । २ छक्का प्रहार गरेका जतिन्दरले ११ बलमा १४ रन बनाए । अर्को ओभरमा नन्दन यादवले अर्का ओपनर हमाद मिर्जालाई ४ रनमा आउट गरे ।

अमिर कलिमलाई दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमा १ रनमा रनआउट गरे । दीपेन्द्रले लगातार पाँचौं खेलमा सिधा थ्रोमा रनआउट गरेका हुन् । आर्यन विष्टले २४ बल खेली ११ रन बनाए । सन्दीप लामिछानेको बलमा उनी बाउन्ड्री लाइनमा वैकल्पिक फिल्डर आरिफ शेखबाट समातिए ।

त्यसपछि गुलशन झाले मोहम्मद नदिम र जितेन रामानन्दीलाई लगातार बलमा शून्यमा आउट गरे । मोहम्मद नदिमले ३१ बल खेली १ छक्का प्रहार गर्दै २५ रन बनाए । गुलशनले यसअघि नै नदिम खानलाई १ रनमा आउट गरेका थिए । विनायक शुक्लाले ओमानबाट सर्वाधिक ३२ रन बनाए । १९ बल खेली १ चौका र ३ छक्का प्रहार गरेका उनी सोमपालको बलमा आउट भए ।

सुफियान मेहबुबले ९ रन बनाए । उनलाई नन्दनले आउट गरे । सकिल अहमद ८ र साह फैजल ३ रन बनाई अविजित रहे । गुलशनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । नन्दनले ४ ओभरमा १९ र सोमपालले ४ ओभरमा २५ रन खर्चेर २–२ विकेट लिए । सन्दीपका नाममा १ विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो । प्रतियोगितामा नेपालले पहिलो पटक १ सय ५० रनमाथिको स्कोर बनाएको हो ।

कुशल भूर्तेल र आसिफ शेखले सानदार सुरुआत दिलाए पनि नेपालको मध्यक्रमको ब्याटिङले पुन: निराश बनाउन पुग्यो । यी दुईले ८ ओभरभित्र ६१ रन जोडेका थिए । आसिफ २० बल खेली २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाई नदिम खानको बलमा बोल्ड भए ।

नदिमले कप्तान रोहित पौडेललाई १ रनमा राउन्ड द लेगमा बोल्ड गरे । नदिमले उत्कृष्ट बलिङ गर्दै नेपालको माथिल्लो क्रमका चार विकेट लिने क्रममा दीपेन्द्रलाई २ र कुशल मल्ललाई ७ रनमा आउट गरे । यस प्रतियोगितामा पूर्ण असफल रहेका मल्लले आफ्नो इनिङ्सका क्रममा ट्वेन्टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका थिए ।

आदिल आलम अन्सारीले १५ बल खेली ३ चौका प्रहार गरी १६ रन बनाए । भूर्तेलले ५१ बलमा ६९ रन बनाए । १८ औं ओभरमा एलबीडब्लू आउट भएका भूर्तेलले ७ चौका र १ छक्का प्रहार गरे । १९ औं ओभरमा लगातार २ छक्का प्रहार गरेका गुलशन झाले १० बलमा १८ रन बनाए । इनिङ्सको अन्तिम बलमा रनआउट भएका नन्दनले ४ बलमा ९ रन बनाए । सोमपाल १ रनमा अविजित रहे ।

ओमानबाट देव्रेहोत स्पिनर नदिमले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । सुफियानले ४ ओभरमा २९ र रामानन्दीले ४ ओभरमा २६ रन खर्चेर २–२ विकेट लिए ।