यी बाच्छालाई जङ्गलमा छाडिएको थियो । बाघ वा अन्य जंगली जनावरले खाउन् भनेर । यी बाच्छालाई (भाग्यमानी) हामीले भेट्यौँ । यिनलाई हामीले काभ्रेको धुलिखेलको जङ्गलबाट समातेर ल्यायौँ । तर जसले यिनलाई छाडे हामीले धन्यवाद नै दियौँ । कमसेकम रुखमा बाँधेर राखेनन् ।रुखमा बाँधिएपछि यी बाच्छाहरुरगाईहरु भोक, प्यास र डरले कराईरहने अनि त्यही आवाज सुनेर बाघ वा अन्य जंगली जनावर आएर मारेर खाइदिने । उपत्यकाका विभिन्न स्थानहरू लुभु–लामाटार माथिको जङ्गलमा, चाँगु, साँखु, शिवपुरी, गोदावरी, चन्द्रागिरीका जङ्गल क्षेत्रमा पनि बाच्छा या बृद्ध गाईगोरुलाई रुखमा बाँधेर राखिदिने सूचना हामीले पाएका छौँ ।

धन्य हामी मानवको विवेक र धन्य हाम्रो चेतना, अनि साना बाच्छाबाच्छीलाई कुकुरले टोकी–टोकी लुछेररमारेर खान्छन् । अनि तिनै कुकुरले मारेर खान्छन् भन्ने थाहा पाएरै खोलाछेउमा कुकुरका हुल भएका ठाउँमा छाडेर अलि परबाट रमिता हेर्ने दूध उद्योगीको आर्थिक उन्नति र प्रगतिको बखान अनि धेरै दूध उत्पादन गरेकोमा पाएको पुरस्कारको पनि बखान पनि कसरी गर्नु र खै ? आफ्नै गोठमा तातो पानीले खन्याएर मार्ने, मुखमा चोयाले बुनेको मुखौटो लगाएर केही खान नदिई मार्ने अनि मर्यो भनेर खाल्डोमा पुरिदिने पापीहरूको पापको व्याख्या पनि यहाँ कसरी र कुन स्वरूपमा गर्नु र खै ?
यदि हामीले घरपालुवा बनाएका हुँदैन्थ्यौँ भने यिनीहरूको जाति या त विनाश भइसक्थ्यो या त आफ्नो प्राकृतिक गुणअनुसारको जीवन जिउँथे । तर हामीले हाम्रा सहयोगी प्राणीको रूपमा अङ्गीकार त गर्यौँ तर विवेकपूर्वक र न्यायपूर्ण व्यवहार गर्न सकेका छैनौँ । या त हामी यिनीहरूप्रति न्यायपूर्ण व्यवहार गरौँ या त हामी अब यिनीहरूसँगको सम्बन्ध तोडिदिऊँ । घाँस, पराल, अनाज, पानी खान दिने, विरामी हुँदा औषधिमूलो गर्दै धेरै माया गर्ने, प्रेम गर्ने मान्छेले कुनै दिन निर्दयतापूर्वक मर्नका लागि सडकमा र मार्नका लागि जंगली जनावरका मुखमा लगेर छाडिदिन्छ भन्ने उनीहरूले कहिल्यै सोच्न सक्दैनन् ।
घाँटीमा, पुच्छरमा कन्याईकन्याईकन दूध निकाल्ने मानवले आफ्नो फाइदा लिइसकेपछि निर्दयतापूर्वक त्यागिदिन्छ भन्ने सोच्नै नपाइकन बेसहारा भई पीडादायी मृत्युवरण गर्नुपर्छ भन्ने सोच उनीहरूका लागि धेरै परको कुरा बन्दछ । हामी मानवको क्रुरताको स्वरूप पनि बडा अपत्यारिलो छ । आफ्ना लागि अमृतसरहको दूध दिने प्राणीलाई सहजै मृत्युको मुखमा धकेल्दा हाम्रा हात काँप्दैनन् । तर अझै पनि हामी लाजै नमानी आफूलाई चेतनशील प्राणी नै हौँ भनेर घोषणा गरिरहन्छौँ ।
मानिस भन्ने प्राणी यति निर्दयी र क्रुर प्राणीको रूपमा परिणत हुन सक्दछ भन्ने हेक्का हुँदो हो त यी प्राणी हामीले बोलाउँदा हाम्रा समीपमा आउने, माया गर्ने गर्दैनथे होला । प्रदिप ढकालको फेसबुकबाट











