काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले सरकारी क्वाटर र सुरक्षा सुविधा अस्वीकार गर्दै मन्त्रालयमै बस्ने घोषणा गरेका छन् ।
सोमबार पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै उनले आफूलाई बस्न र सुरक्षा व्यवस्था आवश्यक नपर्ने बताए ।
“म जहाँ काम गर्छु, त्यहीँ बस्ने बानी छ,” पुनले भने, “मन्त्रालयमै एउटा सानो कोठा बनाइदिनुहोस्, खाट र कुर्सी चाहिन्छ, किचन पनि चाहियो। आफैं पकाएर खान्छु ।”
पुनका अनुसार, उनी मन्त्रालयमा रहेर औपचारिक कामका लागि मात्र सरकारी सवारी प्रयोग गर्नेछन् ।
“सेवा सुविधा के छ भने, यहाँ आउँदा एउटा पुलिस र आर्मीको व्यवस्था रहेछ,” उनले भने, “मैले भाइहरूलाई भनेको छु—कमाण्डरलाई रिपोर्ट गर्नुहोस्, म मन्त्रालयमै बस्छु, बाहिर जाँदा पछिपछि आउनु पर्दैन।”
पदभार ग्रहणसँगै पुनले आविष्कार केन्द्रको जिम्मेवारी छाडेको पनि बताए । “यो पद ग्रहण गरेपछि म आविष्कार केन्द्रमा रहनु हुँदैन, मैले राजीनामा दिइसकेको छु,” उनले स्पष्ट पारे ।










