२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु विषयमा परीक्षण हुँदैछ : स्वास्थ्य मन्त्रालय



अ+ अ-

काठमाडौं । धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसका कारण भए/नभएको विषयमा परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।  

२४ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी २९ वर्षिया महिलाको धुलिखेल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको मन्त्रालयले जनाएको छ । २५ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी ती महिलामा ज्वरो र स्वासप्रस्वासको लक्षण देखिएपछि स्थानीय अस्पतालमा उपचार सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले बताउनुभयो । ती महिलाको अवस्था जटिल हुँदै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रवक्ता देवकाटाले ती महिलाको कोरोनासँग सम्बन्धित परीक्षण भइरहेको र रिपोर्ट आएपछि मात्रै आधिकारिक रुपमा मृत्युको कारण भन्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विस्तृत विवरण लिइरहेका छौँ ।कोरोनासँग सम्बन्धित थप परीक्षण भइरहेका छन् । रिपोर्ट आएपछि कोरोनाका कारण मृत्यु भएको हो/होइन भन्ने कुरा निक्र्यौल गरेर आधिकारिक रुपमा जानकारी दिनेछौँ ।’’ ती महिला सिन्धुपाल्चोकका स्थानीय हुन् ।

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । शनिबार महोत्तरीका ५२ वर्षिय पुरुष र काभ्रेका २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

शनिबार नै कपिलवस्तुका तीन जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । यस्तै शनिबार नै भएको परीक्षणमा बर्दियाको नार्खुका २८ वर्षिया महिला, सिराहा सखुवाका ३० वर्षिय पुरुष, पर्साको विरगञ्जका २८ र २९ वर्षिय पुरुष, सर्लाही रामनगरका १८ वर्षिया किशोरी र चितवनको गढौलीका २५ वर्षिय पुरुषमा संक्रमण देखिएको छ । अहिलेसम्म प्रदेश नम्बर २ र ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । दुबै प्रदेशमा गरी २ सय १८ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर १ मा ३६ र बागमती प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ । यसैगरी गण्डकी प्रदेशमा ३ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३६ जना उपचारपछि घर फर्किएका छन् ।

गत २४ घण्टामा ५ हजार २ सय ४३ जनाको नमुना परीक्षण भएको छ । जसमा पिसिआर विधिबाट २ हजार ५ सय ७९ वटा परीक्षण भएका छन् । आरडिटी विधिबाट २ हजार ६ सय ६४ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । अहिलेसम्म पिसिआर विधिबाट २६ हजार ६ सय ९१ र आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ वटा परीक्षण भएका छन् । शनिबारसम्म कुल ९२ हजार ४ सय ४० जनाको परीक्षण भएको उहाँले बताउनुभयो । प्रदेश नम्बर १ मा ९ हजार १ सय ११, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८७, बागमती प्रदेशमा १० हजार ४ सय ५२ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ जनाको परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ४ सय ९०, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १७ हजार ४ सय ५ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १६ हजार ३ सय ६६ जना रहेका छन् । उपत्यकामा ३२ सहित देशभरीका विभिन्न अस्पतालमा ३ सय २० जना उपचाररत रहेका छन् ।