२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना फैलाउने केन्द्र बन्दैछन् सीमा क्षेत्रका क्वारेन्टिन



अ+ अ-

बुटवल । कोरोना फैलिएसँगै देशभर क्वारेन्टाइन बनाउन संघीय सरकारले मापदण्ड बनायो। त्यसअनुसार बनाउने र सुविधा दिनने हो भने क्वारेन्टाइन नै आइसोलेसन अस्पतालभन्दा उच्च स्तरका हुन्छन्। तर, प्रदेश ५ का सीमावर्ती जिल्लाका क्वारेन्टाइन मापदण्डविपरीत छन्। क्वारेन्टाइन नै कोरोना ‘बम’ बन्ने जोखिम बढेको छ।

यसको उदाहरण नरैनापुरको क्वारेन्टाइन हो। नरैनापुर गाउँपालिका– ५ भोजभगवानपुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा चार दिनमा २३ जनालाई कोरोना संक्रमण भयो। एक जनाले ज्यानै गुमाए। क्वारेन्टाइनमा बसेका ६४ जनामध्ये ६ जनालाई शुक्रबार कोरोना संक्रमण भयो। शनिबार क्वारेन्टाइनमा रहेका ३९ जनाको स्वाब नमुना संकलन भयो।

परीक्षणको रिपोर्ट नआउँदै आइतबार नरैनापुर–५ नयाँ बस्तीका २५ वर्षका युवाको क्वारेन्टाइनमै कोरोनाबाट मृत्यु भयो। उनको मृत्युपछि त्यहाँ बसेकाले विरोध गरे। वडा नम्बर ६ को जय किसन माविको क्वारेन्टाइनमा सारियो। सोमबार त्यही क्वारेन्टाइनमा बसेका थप १७ जनामा कोरोना पुष्टि भयो। उनीहरू रातभर संक्रमण नभएका व्यक्तिसँगै टेन्टमा सुते।

नरैनापुर–५ को दीपेन्द्र प्रावि मात्र होइन, नमुना प्रावि मोतीपुरको क्वारेन्टाइनमा बसेका ५ जना र नेपाल राष्ट्रिय प्रावि हुलासपुर्वाका १२ जनामा कोरोना संक्रमण भएको छ। नरैनापुरमा ७३ जनामा संक्रमण हुँदा वडा नम्बर ५ का ५३ जनामा कोरोना पुष्टि भइसकेको छ।

नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त शर्माका अनुसार गाउँपालिकाभर १५ वटा क्वारेन्टाइनमा झन्डै ८ सय जनालाई राखिएको छ। हरेकमा औसत ५० भन्दा बढी व्यक्ति छन्। मापदण्डअनुसार क्वारेन्टाइन बनाउन नसकिएको मिश्र स्वीकार गर्छन्।

‘हामीसँग जेजस्तो भौतिक पूर्वाधार छ, त्यसलाई प्रयोग गरेका छौं। भारतबाट आएर घरपरिवारमा सार्ने खतरा थियो। त्यसलाई जोगाएका छौं’, उनले भने। त्यहाँका क्वारेन्टाइनमा रहेका अधिकांशले दिसापिसाब शौचालयबाहिरै गर्ने गरेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आठ स्थानीय तहका ४९ वटा क्वारेन्टाइनमा १ हजार ४ सय ५६ जनालाई राखिएको छ। औसत एउटा क्वारेन्टाइनमा ३० जना छन्। जिल्ला समन्वय समितिले क्वारेन्टाइनका अवस्थाको अनुगमन गरेको छ। समिति सदस्य चेतबहादुर घर्ती भन्छन्, ‘क्वारेन्टाइन बनाएर राख्नु राम्रो हो। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुनै पनि क्वारेन्टाइन बनाउन सकिएको छैन।’

तराईको चर्को गर्मी छ। प्रायः विद्यालयका कोठामा क्वारेन्टाइन बनाइएको छ। टिनको छानामुनि बिछ्याइएको म्याटमा सुत्नुपर्छ। खाटको व्यवस्था छैन। झुल नहुँदा लामखुट्टेले टोक्छन्। मध्यरातमा उठेर हातले लामखुट्टे मारिरहनुपर्छ। प्रायः एकै किसिमको खानाले आजित बनाएको छ। खाजा कुकुरलाई फालेजस्तो दुव्र्यहार। न स्वास्थ्य परीक्षण न त सोधीखोजी हुन्छ। मान्छे क्वारेन्टाइनमा छन्, बिहान–साँझ खान पाएका छन्। बस पुग्यो। अरू वास्ता छैन। भारतबाट उद्धार गरी भैरहवाको क्वारेन्टाइनमा राखिएका नेपालीको अवस्था होे यो।

सरकारले क्वारेन्टाइनमा स्वास्थ्यसम्बन्धी व्यवस्था लागू गर्न निर्देशन दिए पनि यस क्षेत्रका क्वारेन्टाइनमा लागू भएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६ वटा बुँदा जारी गर्दै स्वास्थ्यसम्बन्धी व्यवस्था लागू गर्न निर्देशन दिएको थियो। त्यसका अधिकांश बुँदालाई स्थानीय तहले बेवास्ता गरेका हुन्।

भैरहवा सिद्धार्थनगर नगरपालिकाका दुई क्वारेन्टाइनमा भारतबाट ल्याइएका नेपालीलाई राखिएको छ। ‘क्वारेन्टाइनमा राखेदेखि कसैले खासै वास्तै गर्दैनन्’, नुवाकोटका विजय थापा मगरले टेलिफोनमा भने, ‘सधैं एउटै त्यही तरकारी र भात दिन्छन्। खाए खा नखाए मरजस्तो अवस्था छ।’

उनका अनुसार बरु भारतीय क्वारेन्टाइनमा हुँदा राम्रो व्यवस्था थियो। ‘कम्तीमा के कसो छ सोध्न त आउँथे। यहाँ त केही पनि छैन। खाजाको रुपमा बिस्कुट दिन्छन ्। त्यो पनि टाढैबाट फालेर जान्छन्। कुकुरजस्तो व्यवहार गरिरहेका छन्। अलि नराम्रो लागिरहेको छ’, उनले भने।

भारतबाट नेपालीलाई ल्याइएपछि एउटा कोठामा १५ जना राखिए पनि केहीलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पठाउँदा संख्या घट्दो छ। क्वारेन्टाइनमा कसैले अनुगमन गरेका छैनन्।

सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी व्यवस्था क्वारेन्टाइनमा लागू गर्न नसकिएको सिद्धार्थनगर नगरपालिकाका प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी स्वीकार गर्छन्। ‘स्वास्थ्य मन्त्रालयले भनेजस्तो सबै कहाँ गर्न सकिन्छ र रु ’ उनले भने, ‘बजेट, जनशक्ति र स्थान अभाव रहेको अवस्थामा सबै गर्न नसकिए पनि अरू पालिकाभन्दा कमजोर व्यवस्थापन छैन।’

मापदण्डअनुसार कोठामा ७ फिटको फरकमा बेड तयार गरी २ जनासम्म राख्नुपर्ने व्यवस्था छ। तर, जिल्लाका अधिकांश क्वारेन्टाइनमा एउटै कोठामा १० जनाभन्दा बढी राखिएका छन्।

कपिलवस्तुमा सबैभन्दा धेरै व्यक्ति क्वारेन्टाइनमा बसेका छन्। एउटै पालिकामा १६ सय जनासम्म छन्। सीमा क्षेत्रनजिकका विद्यालयमा एउटै कोठामा १० जनाभन्दा बढीलाई राखिएको छ। महाराजगन्ज नगरपालिका–७ गगौडामा क्वारेन्टाइन बस्नुपर्नेहरू बगैंचामा खटिया राखेर बसेका छन्। १० वटा खटिया जोडेर उनीहरू बस्ने गरेको र दूरी कायम राख्न आग्रह गर्दा अटेर गर्ने गरेको महाराजगन्ज नगरपालिकाका एक स्वास्थ्यकर्मीले बताए।

नगरपालिका क्षेत्रभित्र ४८ वटा क्वारेन्टाइनमा १ हजार ६ सय ३२ जना छन्। प्रहरी ड्युटी नहुँदा क्वारेन्टाइनमा मनोमानी ढंगले बस्ने, घरपरिवारलाई क्वारेन्टाइनमै भेट गर्ने, घरबाट खाना मगाएर सँगै बसेर खाने गरेको पाइएको छ।

जिल्लाका क्वारेन्टाइन मापदण्डअनुसारको व्यवस्थापन नपाइएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरी बताउँछन्। ‘यहाँका क्वारेन्टाइनमा मुख्य रुपमा दूरी कायम गरिएको छैन’, स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीले भने, ‘एउटा संक्रमितले क्वारेन्टाइनका अधिकांशलाई संक्रमण फैलाउने अवस्था छ।’

क्वारेन्टाइनमा रहेकाहरुले अनिवार्य मास्क र स्याटिाइजर प्रयोग गर्नुपर्ने हुन्छ। तर, सबैले प्रयोग गरेको देखिँदैन। दिनको चियासमेत गरेर ४ पटक पोषिलो खानेकुरा खुवाउनुपर्छ। तर, अधिकांश क्वारेन्टाइनमा बसेकाहरुले २ छाक मुस्किलले खाना पाएका छन्। कपिलवस्तुमा मात्रै ७ हजार ६ सय १ जना क्वारेन्टाइनमा छन्। नवलपरासीको क्वारेन्टाइनमा १२ सय जना छन्। स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर १४ हजारको हाराहारीमा क्वारेन्टाइनमा बसेका व्यक्ति छन्।अन्नपूर्ण पोष्टमा समाचार छ । 




भर्खरै