काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने जिकिर गर्नुभएको छ ।
आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो प्रस्ट पार्नुभएको हो । आफू पछि नहट्ने जनाउँदै कार्यकर्तालाई आतंकित पार्ने काम गरिएको भन्दै त्यसमा चिन्ता व्यक्त समेत गर्नुभयो ।
भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको आरोप समेत लगाउनुभयो ।
जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको उहाँको भनाई छ ।
आफू कठिन समयमा पार्टी र महिला आन्दोलन हुँदै देशको नेतृत्व गरेको स्मरण गराउँदै अनावश्यक रुपमा विवाद उचाल्न खोजिएकोमा असन्तुष्टि जनाउनुभयो ।
‘के दल चाहिँ अनैतिक अखडा हो ? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान हुन्छ भन्ने बुझ्नुपर्दछ । अहिले जसरी कार्यकर्तालाई बोल्न नदिने र बोलेबापत कारवाही गर्ने भन्न थालिएको छ यो सरासर गलत छ ।’
आफ्नो सदस्यता नवीकरण भइसकेको समेत दाबी गर्दै उहाँले अध्यक्ष केपी शर्मा ओलीसँग पनि यस विषयमा कुरा भएको जनाउनुभयो ।










