२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राधाकृष्ण नाच’ संरक्षणमा ताकमवासी



अ+ अ-

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रूपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् ।

हिमालको काख तथा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउन थालीएको इतिहास छ । भजनकिर्तनको साथमा अभिनयसहितको नृत्य रहने राधाकृष्ण नाचको संरक्षण गर्न स्थानीय ताकम धार्मिक नाट्य समूह नै गठन गरेर अघि बढेका छन् ।

समूहले लोप हुन लागेको राधाकृष्ण नाचको कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरेका स्थानीय कलाकार ऋषिराम सुवेदीले बताउनुभयो । “यो नाच यस क्षेत्रको करिब २०० वर्ष पुरानो सांस्कृतिक चिनारी मानिन्छ, हरेक वर्षको हरितालिका तीजमा अनिवार्य रूपमा ताकम गाउँमा उत्सवको रूपमा राधाकृष्ण नाचलाई देखाउने चलन छ, अहिले अन्य पर्व र उत्सवमा समेत यो नाच देखाउन थालिएको छ”, उहाँले भन्नुभयो ।

राधाकृष्ण नाचका लागि समूहले भजनकिर्तन भाकामा गीतको रचनासमेत गरेका छन् । यो नाचमा हिन्दु धर्मवलम्बीको भगवान शिव, पार्वती र राधा कृष्णको माया प्रेमसहितको नाचगान तथा भगवान गणेश र खलपात्र जोक्करको भूमिकालाई नृत्य तथा अभिनयबाट प्रस्तुत गरिन्छ । राधाकृष्ण नाचमा परापूर्वकालमा देवीदेवता र भगवानको माया प्रेम, जीवन दर्शनलाई भजनकिर्तनका भाकामार्फत व्यक्त गरेर अभिनयसहितको नृत्य आकर्षक तथा मनोरञ्जनात्मक हुने गर्छ ।

पुर्खाबाट पुस्तान्तरण हुँदै आएको यो नाचलाई संरक्षण गर्न नयाँ पुस्तासमेतलाई सहभागी गराउन थालिएको ताकम धार्मिक नाट्य समूहका सचिव नेत्र सुवेदीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय विभिन्न उत्सव, समारोह र सार्वजनिक कार्यक्रममा समेत राधाकृष्ण नाच देखाउन थालिएको छ । हालै गाउँपालिकाले आयोजना गरेको पुख्र्यौली नाच प्रतियोगितामा समेत राधाकृष्ण नाच धेरैको रोजाइ बनेको थियो ।

गाउँपालिकाले पुख्र्यौली संस्कृतिको संरक्षणमा देखाएको सक्रियताले नयाँ पुस्तालाई संस्कृतिको पुस्तान्तरण संगै सांस्कृतिक पर्यटन प्रवर्द्धनसमेतमा सघाउ पुग्ने समूहका सचिव सुवेदीले बताउनुभयो । राधाकृष्ण नाचमा सबै कलाकार पुरुष हुन्छन् । पार्वती र राधाको भूमिका पनि पुरुष कलाकारले निभाउँछन् । ताकम गाउँको सांस्कृतिक पहिचान र चिनारीका रूपमा रहेको यस राधाकृष्ण नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षण गर्न स्थानीय अग्रसर बनेका छन् ।

अहिले ताकम गाउँमा मात्रै नभएर सो गाउँपालिकाका र जिल्ला सदरमुकाम बेनीमा हुने सभा, सभारोह, उत्सव मेला महोत्सवमा समेत प्रर्दर्शन हुन थालेको छ । धौलागिरि पदमार्गको पर्यटकीय गाउँको रूपमा चिनिएको ताकमको राधाकृष्ण नाच पर्यटन प्रवर्द्धनको माध्ययम बन्ने अपेक्षा गरिएको छ ।