९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता
अ अ+ अ-

खोटाङ । “तीन वर्षको निरन्तर प्रयासपछि म पनि नेपाली नागरिक बनेको छु । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आउनुभएका ३६ वर्षीय इन्द्रबहादुर थापाले भन्नुभयो, “अब सबैभन्दा पहिले दुई छोराको जन्मदर्ता गरिदिन्छु, त्यसपछि उनीहरूको पढ्ने बाटो खुल्छ । नागरिकता दिलाउन सहयोग गर्ने सबैप्रति आभारी छु ।”

बुबाआमा दुवै पत्ता नलागेका इन्द्रबहादुरले बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङबाट वपंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो । नेपाल नागरिकता ऐन, २०६३ संशोधनसहितको दफा ८–१ (ग) ३ बमोजिम (अन्य तरिकाबाट हुर्किएका व्यक्तिलाई वंशजका आधारमा दिइने नागरिकता) बुबाआमाको नाम उल्लेख गर्ने महल (ठाउँ) खाली राखेको नागरिकता प्राप्त गर्नुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका चक्र राई (बेलायती सेनाका पेन्सनर)को घरमा आश्रय लिएर हुर्किनुभएका इन्द्रबहादुरका दुई छोरा (जेठा राजेश १८ तथा कान्छा आदेश १३ वर्ष)का छन् । इन्द्रबहादुरले आश्रय लिएर बसेका घरधनी चक्रको सात वर्षअघि निधन भएको छिमेकीहरूले बताएका छन् ।

चक्रको निधन भएको तीन वर्षपछि (३३ वर्षको उमेरमा) त्यस घरबाट निकालिनुभएका इन्द्रबहादुर अहिले ससुराली घरमा घरज्वाइँ भएर बसिरहनुभएको छ । चक्रले आफ्नै छोरा बनाएर नागरिकता बनाइदिने, विवाह गरिदिने र अंशसमेत उपलब्ध गराउने शर्तमा त्यस घरमा आफूलाई राखेर काम लगाएको इन्द्रबहादुरले बताउँदै आउनुभएको छ ।

चक्रको निधनपछि छोराछोरीबाट रु आठ लाख लिएर निस्किनुभएका इन्द्रबहादुरलाई नागरिकता दिलाउन वडा कार्यालय बाम्राङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २०८१ साल भदौ १७ गते जिल्ला प्रशासन कार्यालयलाई छुट्टाछुट्टै सिफारिस गरेको थियो । चक्रको घरमा हुँदा नै बाम्राङकै स्थानीय दाहाल थरकी महिलासँग विवाह गर्नुभएका इन्द्रबहादुरले नागरिकता प्राप्तिका लागि २०८० साल माघ ७ गते गाउँ सर्जमिन गराएर २०४६ साल जेठ १० गतेको जन्ममिति राखेर आफ्नो जन्मदर्ता प्रमाणित गराउनुभएको थियो ।

इन्द्रबहादुरलाई नागरिकता दिलाउन आफू निर्वाचित भएर आएपछि फरकफरक प्रकृतिको पाँचपटक सिफारिस गरिदिएको बाम्राङका वडाध्यक्ष महेन्द्र राईले जानकारी दिनुभयो । “बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता दिने विषयमा बाम्राङवासी सबै सहमत थियौँ । धेरैले आफ्नो छोरा बनाएर नागरिकता दिन्छु पनि भनेका थिए”, उहाँले भन्नुभयो, “कानुनी प्रावधानका कारण त्यो सम्भव भएन । लामो समयको प्रयासपछि इन्द्रबहादुरलाई अन्य तरिकाबाट हुर्किएका व्यक्ति भनेर नागरिकता दिलाउन सफल भएका छौँ । अब घरजग्गा व्यवस्था गरेर स्थापित गर्छौँ ।”

वडा कार्यालय बाम्राङ तथा नगरपालिकाको कार्यालय दिक्तेलबाट सिफारिससहित आवश्यक कागजात लिएर इन्द्रबहादुर २०८१ भदौ १८ गते जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो । त्यसबेला शिवकुमार कार्की खोटाङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । तर, जिल्ला प्रशासन कार्यालयले ईन्द्रबहादुरकोे कागजातमा नेपाल नागरिकता ऐन, २०६३ को दफा ८ ९ग० बमोजिम कानुनी संरक्षकका रूपमा पेस नभएको र अन्य संस्थागत संरक्षकत्वसमेत पेस नभएको भन्दै नागरिकताको सिफारिस दरपिठ गर्दै नागरिकता दिन इन्कार गरेको थियो ।

जिल्ला प्रशासनले नागरिकता दिन इन्कार गरेपछि इन्द्रबहादुर कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश घिमिरेलाई गुहार्न दिक्तेलस्थित ‘कान्ति ल फर्म’ पुग्नुभयो । आफ्नो समस्या सुनाएपछि इन्द्रबहादुरले अधिवक्ता घिमिरेलाई प्रोबोनो (नि:शुल्क कानुनी सहायता दिने वकिल) कानुन व्यवसायीका रूपमा नियुक्त गर्नुभयो ।

प्रशासनले इन्कार गरेपछि नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित बनाएको भन्दै इन्द्रबहादुरले उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गामा वंशजका आधारमा नागरिकता दिन, दिलाउन भनी परमादेशको आदेशसहित माग लिएर रिट निवेदन दर्ता गराउनुभयो । अधिवक्ता घिमिरेमार्फत जिल्ला प्रशासन कार्यालय र प्रजिअ कार्कीविरुद्ध २०८१ साल मङ्सिरमा रिट निवेदन दर्ता गराउनुभएको हो ।

इन्द्रबहादुरको रिट निवेदनमा न्यायाधीश धीरबहादुर चन्द र बबिता उप्रेतीको संयुक्त इजलासले इन्द्रबहादुरको पक्षमा परमादेश जारी गर्यो । नेपाल नागरिकता ऐन, २०६३ संशोधनसहितको दफा ८–१ (ग) ३ मा उल्लेखित कागजात पेस गरी नेपाली नागरिकताको प्रमाणपत्र पाऊँ भनी निवेदन पेस गरेको खण्डमा उक्त दफाको ८‐१ (ग) ३ बमोजिम नागरिकताको प्रमाणपत्र दिनु भनी विपक्षीहरूका नाममा २०८१ साल माघ २३ गते परमादेशको आदेश जारी गरेको थियो ।

उच्च अदालतको परमादेशको फैसला र पत्र जिल्ला प्रशासनलाई पठाएपछि इन्द्रबहादुर पुन: २०८१ साल फागुनदेखि नागरिकता लिन दैनिक प्रशासन धाउन थाल्नुभयो । अदालतले रिट निवेदकलाई नागरिकता दिनू भनेर फैसला गर्दा पनि जिल्ला प्रशासन कार्यालय खोटाङले दुई महिनासम्म नागरिकता नदिँदा इन्द्रबहादुर निरास बन्नुभएको थियो ।

इन्द्रबहादुरले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा नगरेकाले ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले प्रतिक्रिया दिनुभएको छ । “खोटाङमा यो पहिलो अभ्यास हो । सबै कुरा मन्त्रालयको सुझावका आधारमा गर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “इन्द्रबहादुरले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि तुरुन्तै नागरिकता दिलाएका छौँ । यसमा हाम्रो कुनै कमजोरी छैन ।”

प्रशासनको पछिल्लो सेवा प्रवाहका विषयमा नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराईलगायतले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै आएका छन् । कांग्रेस खोटाङका प्रवक्ता रोजन राई र एमालेका दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिका अध्यक्ष गोपाल आचार्यले प्रशासनमै पुगेर नागरिकताको सन्दर्भमा जनताले अनावश्यक दु:ख पाएको भन्दै ध्यानाकर्षणसमेत गराउनुभएको छ । रासस