२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ

कांग्रेस महाधिवेशनः नेतृत्वमा युवा कि वृद्धैवृद्ध ?

कांग्रेस महाधिवेशनः नेतृत्वमा युवा कि वृद्धैवृद्ध ?
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री बन्दा ४५ वर्षका थिए । ०५१ को मध्यावधि निर्वाचनपछि बनेको तत्कालीन एमाले नेतृत्वको सरकार ९ महिनामै ढलेपछि उनी प्रधानमन्त्री बने । त्यति बेला उनको उमेर ४८ वर्ष थियो । राजनीतिक क्षेत्रमा लाग्नेहरूका लागि आफ्नो ‘करिअर’ को सबैभन्दा उच्चतम आकांक्षा नै मुलुकको कार्यकारी प्रमुख बन्नु हो । त्यो उपलब्धि देउवाले साढे दुई दशकअघि नै हासिल गरिसकेका हुन् । केही अपवादबाहेक विकसित मुलुकमा कार्यकारी प्रमुख भएर हटेपछि राजनीतिबाट अवकाश लिने प्रचलन छ । देउवा यसबीचमा चारपटक प्रधानमन्त्री बने । एकपटक विभाजित र एकपटक सिंगो कांग्रेसको सभापति भए । उमेरले समेत ७५ वर्ष पुगिसकेका उनी राजनीतिक विश्राम लिन भने अझै तयार छैनन् । पार्टीको १४ औं महाधिवेशनमा पनि उनी सभापतिको प्रत्याशीका लागि तयारी गरिरहेका छन् ।

तत्कालीन एमालेले ७० वर्ष उमेर पुगेपछि सक्रिय राजनीतिबाट अवकाश लिने नियम नै बनाएको थियो । त्यसको दबाब कांग्रेसमा समेत परिरहेको थियो । तर, एमाले र माओवादी केन्द्रको एकीकरणपछि उमेर हद हटाइयो । त्यही उमेर हदलाई नेकपाले निरन्तरता दिएको भए उपाध्यक्ष वामदेव गौतमले राजनीतिक अवकाश लिइसकेका हुन्थे । गौतम नेकपाका ज्येष्ठ नेता हुन् । उनको उमेरले ७२ वर्ष नाघिसकेको छ । नेकपामा त्यसपछि ७० वर्ष उमेर पुग्नेमा झलनाथ खनाल छन् । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली ६९, अर्का अध्यक्ष पुष्पकमल दाहाल ६६ र वरिष्ठ नेता माधव नेपाल ६८ वर्ष उमेरमा छन् । नेकपाको नेतृत्व तहमा रहेका यी अनुहारहरू पनि ०४८ सालदेखि नै राजनीतिक ‘सिन्डिकेट’ जमाएर बसेका छन् ।

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र उमेरको विषय चर्चामा छ । ७५ वर्षका देउवा र ७६ वर्षका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वको चाहनाले पनि उमेरको विषयले कांग्रेसमा चर्चा पाउन थालेको हो । देउवा र पौडेल पार्टीका पहिलो तहका नेताहरू हुन् । उनीहरू ०४८ सालदेखि निरन्तर नेतृत्व तहमा छन् । आसन्न महाधिवेशन पनि यी दुई नेताले छाड्ने मनस्थिति बनाएका छैनन् । आपसी प्रतिस्पर्धामा उत्रिन लागेका छन् । १३ औं महाधिवेशन पनि यी दुई नेताबीचकै प्रतिस्पर्धा थियो । दुईमध्ये एकले पार्टीको नेतृत्व लिए थप पाँच वर्ष गुज्रनेछ । कम्तीमा असी वर्षसम्म उनीहरूले पार्टीमा आफ्नो ‘सिन्डिकेट’ जमाउने छन् । अहिले युवा भनिएका नेताहरूको समेत त्यतिबेलासम्म कपाल फुलिसक्नेछ । त्यसैले कांग्रेसभित्र नेतृत्वको विषयमा पहिलो र दोस्रो पुस्ताबीच हानथाप चल्न थालेको छ ।

‘असी वर्षपछि पनि स्वास्थ्यले साथ दियो भने देउवा र पौडेल स्वेच्छाले हट्दैनन् । जबर्जस्ती अर्को पुस्ताले विस्थापित गर्न सक्यो भने बेग्लै कुरा,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘चारपटक प्रधानमन्त्री र पार्टी सभापति भइसकेपछि अब पनि शेरबहादुर दाइ नै किन भन्ने प्रश्न पार्टीभित्रभन्दा बाहिर बढी चर्चामा छ । तर, सत्ता र शक्तिको भोग गर्ने बानी परेपछि नमरुन्जेल राजनीति छाड्न नसक्ने संस्कृति नै बन्दो रहेछ । हिजो गिरिजाप्रसाद कोइरालामा देखिएको थियो, आज शेरबहादुर दाइमा देखिएको छ ।’ राजनीतिको उत्तरार्द्धमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले सक्रिय राजनीतिको मोह त्यागेका थिए । तर, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला निधन हुँदाका बखत पार्टी सभापति नै थिए । अहिले देउवा र पौडेलका लागि पनि उत्तराधिकारी प्राथमिकतामा परेको छैन । कांग्रेस नेता मीनेन्द्र रिजाल पार्टीको संगठन बलियो बनाउन हरेक नेताले ६५ वर्ष पुगेपछि राजनीतिबाट विश्राम लिनु उपयुक्त हुने धारणा राख्छन् । ६३ वर्षका रिजालले चौधौं महाधिवेशनलाई आफ्नो राजनीतिक करिअरका लागिसमेत अन्तिम मौका परीक्षाका रूपमा लिएका छन् ।

पार्टीले ६५ वर्ष उमेरमाथिका नेतालाई राख्न ज्येष्ठ राजनीतिज्ञ सभा व्यवस्था गरेको छ । पार्टीको क्रियाशील पदमा नभएको व्यक्तिलाई यस्तो सभामा ल्याउन सकिन्छ । रिजाल ६५ वर्ष उमेरपछि राजनीतिज्ञ सभामा बसेर पार्टीका लागि उपयुक्त सल्लाह सुझाव दिन उचित हुने बताउँछन् । उनले १२ वर्षअघि केन्द्रीय कार्यसमितिमै ६० वर्षको उमेर हद राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर पछिल्लोपटक उनले ६५ वर्षको उमेर हदको प्रस्ताव अघि सारेका हुन् । केन्द्रीय सदस्य गगन थापाले पनि केही वर्षअघि ५५ वर्षसम्म मात्रै आफू सक्रिय राजनीतिमा रहने घोषणा गरेका थिए । शेखर कोइरालाले आफू ७५ वर्षपछि सक्रिय राजनीतिमा नरहने घोषणा गरेका छन् ।

रिजालका अनुसार राजनीतिमा जति अनुभवी भए पनि निश्चित उमेरपछि क्रियाशीलता घट्छ । आफूभन्दा अर्कोले राम्रो गर्न सक्ने परिस्थिति बन्न सक्छ । विश्व परिवेश पनि त्यस्तै छ । युरोप र अमेरिकामा युवाले नेतृत्व सम्हाल्दै आएका छन् । राम्रो काम गरेका पनि छन् । ‘सबै देशमा महाथिर जन्मँदैनन् । कांग्रेसमै सबै बीपी हुँदैनन् । गिरिजाप्रसाद कोइरालाजस्तो क्रियाशील हुन पनि सक्दैनन्,’ रिजालले भने, ‘म ६५ वर्ष पुगेपछि कुनै पनि पदमा उम्मेदवार हुन्न । पार्टीका सबै साथीहरूले यसै गरे युवाले नेतृत्व लिने वातावरण बन्छ, पार्टी पनि बन्छ ।’ पौडेल र देउवालाई चुनौती दिन उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला अघि सर्दैछन् । उनीहरूमा पनि उमेरको दबाब मुख्य देखिन्छ । उमेरकै दबाबमा रहेका दोस्रो पुस्ताका अन्य नेताहरू पनि यसै महाधिवेशनमा उपसभापति, महामन्त्री बन्ने दौडमा छन् । सभापतिका आकांक्षी शेखर ७० वर्ष लागेका छन् । ‘म अरूजस्तो नमरुन्जेलसम्म पदमा टाँसिइरहन्न, अर्को महाधिवेशनपछि म अवकाश लिन्छु,’ केही समयअघि कान्तिपुरसँग उनले भनेका थिए, ‘जब अर्कोपटक लड्नु नै छैन भने किन म महामन्त्री वा उपसभापतिमा बस्छु । यसैपटक सभापतिका लागि लड्छु ।’

शशांक शेखरभन्दा ८ वर्षले कान्छा छन् । उमेरको दबाबमा रहेकाले पनि शेखर यसपटक आफूलाई सहयोग गर्न शशांकलाई फर्काइरहेका छन् । प्रकाशमान सिंह ६५ र निधि ६४ वर्षका छन् । यसैपटक नलडे अर्को पाँच वर्ष पनि परिस्थिति प्रतिकूल हुने उनीहरूको बुझाइ छ । पार्टीभित्र विचार निर्माणमा अहिल्यैदेखि युवाको हस्तक्षेप बढेको छ । अर्कोपटक नेतृत्वकै लागि हस्तक्षेप हुने देखिन्छ । त्यसमा उमेर पनि ढल्केपछि प्रतिकूल अवस्था हुने बुझाइ सभापतिका सबै आकांक्षीको छ । १४ औं महाधिवेशनबाट महामन्त्री बन्ने र १५ औंमा सभापति हुने युवा नेता थापाको तयारी अहिल्यैदेखि चलेको छ । कांग्रेसमा दोस्रो तहका अन्य नेताहरू पनि अधिकांश ७० वर्ष कटेका छन् । गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसी ७३ वर्ष पुगिसकेका छन् । कृष्णप्रसाद सिटौला ७१ वर्षका छन् भने रामशरण महत ७० वर्षका भए । विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, बलबहादुर केसी, महेश आचार्य ६५ वर्ष कटेका छन् । केन्द्रीय कार्यसमितिमा ५० देखि ६० वर्ष उमेर समूहका नेताहरूकै बाहुल्य छ ।

देउवा र पौडेललाई यसैपटक नेतृत्वको ‘रिङ’ बाट बाहिर पुर्‍याउन सके दोस्रो पुस्ताका धेरै नेतासमेत यसैपटक नेतृत्व तहबाट बाहिरिने अनुमान कांग्रेसमा छ । यस्तो अवस्था उत्पन्न भए १५ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय कार्यसमितिमा रहेको तेस्रो पुस्ता नै नेतृत्वमा आउन सक्छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका नेता गोविन्द पोखरेल जतिसुकै लोकप्रिय भए पनि बीसौं वर्षसम्म निरन्तर एउटै व्यक्तिले पार्टीको नेतृत्व लिँदा पार्टी बहुआयामिक रूपमा चल्न नसक्ने बताउँछन् । उनका अनुसार विकासको गतिसँगै नेतृत्वको परिवर्तन पनि समाजले खोजेको हुन्छ । कांग्रेस नेतृत्वमा रहेका देउवा र पौडेल एक समय लोकप्रिय नेता थिए । तर, अहिले दुवैप्रति पार्टी र समाजको आकर्षण घटेको छ । पार्टी र सरकारको नेतृत्वमा छँदा गरेका शासकीय कमजोरी र गलत निर्णयका कारण देउवाप्रति आम विश्वास गुमेको छ । परम्परागत पुस्ताको सोच र धारणा राख्ने नेतृत्वबाट अहिलेको आधुनिक प्रविधिको समयमा अभ्यस्त युवा जमातलाई पार्टीमा जोड्न सकिँदैन भन्ने तर्क पनि उठिरहेको छ । युवा नेता प्रदीप पौडेलले भने, ‘स्वाभाविक बहिर्गमन नरोजे ७० वर्षपछि अनिवार्य अवकाश लिन बाध्य नपार्ने हो भने पार्टीले नयाँ पुस्ताको विचार र चाहनालाई डोर्‍याउन सक्दैन ।’

पोखरेल पनि नयाँ अनुहारलाई अवसर दिनका लागि नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताउँछन् । ‘पुराना नेताहरूमा लामो अनुभव छ । सहनशीलता छ, निर्णय गर्न आत्तिँदैनन् । तर, समयको चाप र विकसित प्रविधिलाई पछ्याउन सक्दैनन्,’ उनले भने, ‘सोचाइ र विचारमा समेत कुनै नयाँपन देखिँदैन । क्रियाशीलता घट्छ । त्यस्तो बेला पुराना नेताले नयाँलाई अवसर दिने हो भने समाजले चाहेअनुसार पार्टीलाई हाँक्न सक्छन् । युवालाई आकर्षित गर्न सक्छ ।’

निर्वाचन आयोगका अनुसार ०७४ को निर्वाचन तथ्यांकमा ४० वर्षभन्दा कम उमेरका मतदाता ८० लाख ७१ हजार ३ सय ६९ थिए । कांग्रेस केन्द्रीय कार्यसमितिमा अहिले ४० वर्षको उमेर समूहको प्रतिनिधित्व गर्ने एक जना पनि छैनन् । केन्द्रीय कार्यसमितिमा गगन थापा कान्छा सदस्य हुन् । उनी अहिले ४४ वर्षका छन् । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषाअनुसार १६ वर्षदेखि ४० वर्ष उमेर समूहलाई मात्रै युवा भन्नुपर्छ । बाहिरका धेरै मुलुकमा १८ वर्षदेखि ३५ वर्ष उमेर समूहलाई युवाको परिभाषाभित्र राखिएको छ । संयुक्त राष्ट्रसंघले १५ देखि २९ वर्षसम्मकालाई युवा भनेको छ ।

राजनीतिक पार्टीहरूमा भने ६० वर्ष कटेकालाई समेत युवा भन्ने गरिएको छ । कांग्रेसभित्रै देउवा र पौडेलबाहेक तलका अधिकांश नेताले आफूलाई युवा भनेर चिनाउँछन् । कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो तहमा समेत ७० कटेका नेताहरू नै रहेकाले पनि तलबाट नेतृत्वको विकास क्रम रोकिएको कतिपयको बुझाइ छ । त्यही बुझेर केन्द्रीय सदस्य शेखर कोइरालाले स्थानीय तहमा ४०, प्रदेशमा ५० र केन्द्रमा ६० प्रतिशत युवा नेता आउने सुनिश्चित पार्टीको अधिवेशनबाट हुनुपर्ने प्रस्ताव अघि सार।ेका छन् । हालै पार्टीका केही युवा नेता भेट्न जाँदा देउवाले उनीहरूलाई नेतृत्व मागेर नभई लडेर लिन सुझाएका थिए । आफूले पनि गिरिजाप्रसाद कोइरालासँग लामो समय लडेको स्मरण गराउँदै सजिलै नेतृत्व नछाड्ने संकेत गरेका थिए ।

देउवाले जस्तै अवसर पौडेलले पाएका छैनन् । तीन दशक लामो कालखण्डमा पनि उनी सभापति र प्रधानमन्त्री बन्न सकेनन् । चौधौं महाधिवेशनलाई उनले आफ्ना लागि अन्तिम मौकाका रूपमा हेरेका छन् । आगामी महाधिवेशन हुने बेलासम्म देउवा ७६ र पौडेल ७७ वर्ष पुग्नेछन् । देउवाका लागि पार्टीमा चौधौं महाधिवेशन अन्तिम मौका हुनेछ । पछिल्लोपटक पार्टी विधानले सभापतिमा लगातार दुई पटकभन्दा बढी प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था गरेको छ ।

उमेरका कारण देउवा र पौडेलपछिको पुस्ता सबैभन्दा बढी दबाबमा छ । यसपटक नेतृत्वमा आउन नसके कहिल्यै आउन नसकिने बुझाइ उनीहरूमा देखिन्छ । युवा नेता पौडेल पनि पहिलो पुस्ताका नेताहरूले अवकाश रोज्नुपर्ने बताउँछन् । ‘एकातिर कम्युनिस्ट जनमत बढ्दो छ । उनीहरूसँग प्रतिस्पर्धा गर्न नेतृत्वमा डाइनामिक हुन आवश्यक छ,’ उनले भने, ‘अहिलेको नेतृत्वले समयको गतिलाई बुझ्न सकेको छैन । पार्टीको सैद्धान्तिक पक्षमा अपडेट छैन । भए पनि राम्रोसँग व्याख्या गर्न सक्दैन । समाजको एजेन्डा र चाहनासँग बेपर्बाह छ । ०४७ सालदेखि एउटै नेतृत्वको सिन्डिकेटमा पार्टी चलेको छ । निरन्तर २७र२८ वर्षसम्म एउटै अनुहारबाट पार्टी कसरी चल्न सक्छ  ?’ कान्तिपुर दैनिक