२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
फाइल फोटो
अ अ+ अ-

कञ्चनपुर। केही वर्ष अघिसम्म धान काट्ने निर्णय गर्दा आकाश नियाल्ने कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती टोलका निलम कार्की अहिले मौसम पूर्वानुमानको सूचनाले ढुक्क छन्।

कहिले पानी पर्छ, कति पर्छ र वर्षाको सम्भावना कस्तो छ भन्ने जानकारी उहाँको मोबाइलमै आइपुग्छ। मौसमबारे जानकारी लिन म्यासेजका अलावा फोन गर्न सकिन्छ। “पहिला धान काट्न आकाशको बादल हेरेर निर्णय गर्नुपर्थ्यो अहिले मौसमको पूर्वसूचनाले सहज भएको छ,” कार्कीले भने, “११५५ मा फोन गरेर जानकारी लिएपछि धान काट्ने समय तय हुन्छ।”

पाँच कट्ठा जग्गामा धानखेती गरेका उनले हाल जल तथा मौसम विज्ञान विभागबाट जानकारी लिएर मात्रै खेतीपातीको निर्णय गर्ने गरेको जानकारी दिए। खेती भित्र्याउन मात्रै होइन नदीमा बाढी आएपछि साइरन बज्ने र मोबाइलमा म्यासेज आउने गरेको उनको भनाइ छ।

मौसम पूवार्नुमानको सूचनाले कार्की जस्तै कृष्णपुरकै निर्मला बडूलाई खेतमा काम गर्न सहज भएको छ। “११५५ मा मौसमबारे जानकारी लिएपछि मात्रै धान काट्ने समय तह हुन्छ,” बडूले भनिन्, “आवश्यक जानकारी लिएर नै खेतमा धान काटेका छौँ।”

उनले विभागले दिने पूर्वजानकारीले हाल खेतीपातीको काम गर्न धेरै सहज र भएको बताइन्। उनले चार कट्ठा जमिनमा धानखेती गरेकी छन्। विभागले बुधबार कञ्चनपुरमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएपछि कञ्चनपुरका किसान सचेत भएका छन्।

मौसम पूर्वानुमानको सूचनाले अन्नबालीमा हुने क्षति कम भएको बेदकोट नगरपालिका–७ का किसान विसन पन्त बताउँछन्। उनले विभागले जारी गर्ने पूर्वसूचनाले किसानको बालीनालीको सुरक्षा भएको बताए। उनले भने, “पूर्वसूचनाले एकातर्फ किसानको अन्नबाली सुरक्षित भयो अर्कोतर्फ बाढीबाट हुने क्षति कम भएको छ।”

विभागबाट आउने सूचना भरपर्दो भएपछि किसानका लागि वरदान साबित भएको छ। “केही वर्षअघि सम्म काटेका धान खेतमै डुब्थे अहिले त्यो समस्या झेल्नु परेको छैन,” उनले भने, “तर पछिल्लो समय सामाजिक सञ्जालमा आउने मौसमसम्बन्धी सूचनाले सत्य हो कि होइन विश्वास गर्नै गाह्रो हुन्छ।”

जिल्लाको कुल एक लाख ६१ हजार ६२४ हेक्टर क्षेत्रफलमध्ये ५६ हजार ३६३ हेक्टर खेतीयोग्य रहेको छ। जसमध्ये ४८ हजार ४९६ हेक्टरमा धानखेती हुने गरेको छ। यस्तै, ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।