२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र
अ अ+ अ-

म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको विभिन्न स्थानमा मर्मत कार्य सम्पन्न भएको छ ।

सो सडकखण्डको विभिन्न ५५ स्थानमा बाढी पहिरोका कारण अवरुद्ध भएको थियो । यही असोज ८ देखि ११ गतेको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले १० स्थानको सडक कटान गरेर बगाएको र भत्काएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्ग र रघुगङ्गा गाउँपालिका–२ कुनौटा बाहेकका स्थानमा मङ्गलबारसम्म प्रारम्भिक मर्मत कार्य सकिएको जानकारी दिनुभयो ।

“मालढुङ्गादेखि कुनौटा, कोरलादेखि पोखरेबगर सडक पुलसम्मको सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न सकिने गरि मर्मत भएको छ,” उहाँले भन्नुभयो, “पोखरेबगरदेखि कुनौटाको बीचमा पर्ने रातोपानी, धिरच्याङ, भिरकाटे, महभिर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने तथा नयाँ मार्ग बनाउने काम सकिएको छ ।”

बाढीले कुनौटामा पैदलयात्रा गर्न नमिल्ने गरी २५० मिटर सडक र पोखरेबगरको पुलको पहुँचमार्ग बगाएको थियो । कुनौटामा चार वटा एक्साभेटरसहित टिप्पर परिचालन गरेर माटो भर्ने तथा पोखरेबगरमा मजदुर र उपकरण परिचालन गरेर ग्यावियन पर्खाल निर्माण भइरहेको छ ।

आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको योजना प्रमुख शर्माले बताउनुभयो । सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन इन्धन अभाव रहँदै आएको थियो ।

राहुघाटको विद्युत्गृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको छ । नेपाली सेना, स्वयम्सेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।

सडक विभाग र निर्माण व्यवसायीका १५ वटा एक्साभेटर, १२ वटा टिप्पर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।

“सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,” उहाँले भन्नुभयो । सो आयोजनामा यसपटकको विपद्ले हालसम्म ठूलो क्षति पु¥याएको छ । सडक पुनर्निर्माणका लागि रु तीन अर्ब लाग्ने प्रारम्भिक अनुमान सडक विभागले गरेको छ । रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण रहेको छ । सो नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भएको छ । दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय याम सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब परेको छ ।  रासस