१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन

माघ सकिनै लाग्दा न हिउँ न वर्षा

माघ सकिनै लाग्दा न हिउँ न वर्षा
अ अ+ अ-

गण्डकी । यसपालिको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापन छाएको छ ।

गाउँबस्ती र डाँडाकाँडा फुस्रा भएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले हिउँ र वर्षा नहुँदा किसानलाई पिरलो थपिएको बताउनुभयो । “हिउँ नपर्दा स्याउ खेतीमा असर पुग्छ, रोककिराको प्रकोप बढ्न सक्छ”, उहाँले भन्नुभयो, “मुस्ताङमा लगाइने उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बालीको उब्जाउ क्षमता पनि घट्छ ।”

मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने उहाँको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनको तीव्र असर हिमाली भेगमा परेको विभिन्न अध्ययनले देखाएको छ । मौसमी घटना र प्रवृत्तिमा यस्तै क्रम दोहोरीरहे हिमाली क्षेत्रमा नयाँ खेतीबालीको प्रवेश हुने र रैथाने उत्पादन लोप हुने खतरा रहेको बताइन्छ । पछिल्लो समय मुस्ताङको उपल्लो भेगमा समेत काँक्रा, गोलभेँडा जस्ता तरकारीजन्य बाली उब्जाउ हुन थालेको किसान बताउँछन् ।

समयमा हिउँ र वर्षा नहुँदा खेतीबाली नसप्रने किसानको दुःखेसो छ । मुस्ताङमा हावा मात्र चल्ने हिउँ नपर्ने अवस्था देखिएको छ । गत वर्षको हिउँद पनि हिउँ र वर्षा नभई बितेको थियो । हिउँ नपर्दा सिँचाइ नभएका ठाउँमा अन्नपात माटोमै सुक्ने गरेको कृषि अधिकृत नेपालीले बताउनुभयो । घरपझोङ गाउँपालिका–२ मार्फाका स्याउ किसान दीपक लालचनले हिमपात नहुँदा फलफूल र अन्नबालीलाई चाहिने चिसोपना कम हुने बताउनुभयो । स्याउको फूल खेल्न र फल लाग्न चिसोपनाको खाँचो पर्छ ।

“चिस्यान पुगेन भने स्याउ उत्पादनमा ह्रास आउन सक्छ”, उहाँले भन्नुभयो, “मार्फामा भने सिँचाइ सुविधा भएकाले आत्तिहाल्नुपर्ने छैन ।” जौँ खेती बढी हुने थासाङ गाउँका किसानलाई भने सुक्खा मौसमले चिन्ता थपिदिएको उहाँको भनाइ छ । थासाङमा सिँचाइको उचित प्रबन्ध छैन । हिमपात र वर्षात् नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन पनि प्रभावित भएको छ ।

लालचनले कडा जाडो हुनुपर्ने याममा न्यानो महसुस हुन थालेको बताउनुभयो । हिउँमा खुल्ने मुस्ताङ, मनाङ, म्याग्दीलगायत पर्यटकीयस्थल पनि उजाड देखिएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी जुलीले पुनले अहिलेसम्म हिउँ नपरेको बताउनुभयो । गण्डकी प्रदेशका कुनै हिमाली जिल्ला र उच्च पहाडी भेगमा अहिलेसम्म हिमपात भएको छैन । छिटपुट वर्षासमेत हुन सकेको छैन । हिउँ र वर्षा नहुँदा मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङको उच्च क्षेत्रमा लगाइएको हिउँदे बालीमा बढी असर पुगेको छ । बेलामा पानी नपर्दा, हिमपात नहुँदा असिञ्चित ठाउँको खेतीमा त क्षति नै पुग्ने गरेको छ ।

बाह्रैमास नहर र कूलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने कृषि अधिकृत नेपालीले बताउनुभयो । हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उहाँको भनाइ छ । खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने गरेको छ । हिउँ नपर्दा पर्यटक लोभ्याउने हिमाल पनि कालापत्थरजस्ता देखिन थालेका छन् ।

विश्वव्यापी रूपमा गहिरिँदो जलवायु सङ्कटको सबैभन्दा ठूलो मार नेपालका हिमालमा परेको सो क्षेत्रका विज्ञ र अध्येताहरू बताउँछन् । पर्यावरणीय अध्येता कुलचन्द्र अर्यालका अनुसार जलवायु सङ्कटको नकारात्मक असर पर्ने विश्वकै सबैभन्दा बढी संवेदनशील क्षेत्रमा नेपालको हिमालय क्षेत्र पर्छ । “विश्वको औषत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ”, उहाँ भन्नुहुन्छ, “विश्वको औषत तापमान १ दशमलब ५ प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा १ दशमलब ८ देखि दुई डिग्री सेल्सियससम्म बढ्ने गरेको अध्ययनले देखाएको छ ।”

जलवायु परिर्वतन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पु¥याइरहेको पर्यावरणीय अध्यता अर्यालको भनाइ छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल थपिने, विस्तार हुने र विष्फोटन हुने दर बढीरहेको उहाँले बताउनुभयो । अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमाल कालापत्थरमा परिणत हुने बताइन्छ । विश्वव्यापी तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दूकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड)को अध्ययनले देखाएको छ । रासस