६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहले बनाएको आइसोलेसनमा बस्ने संक्रमितको संख्या शून्य



अ+ अ-

ललितपुर । उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा स्थानीय तहले बनाएको आइसोलेसनमा बस्ने संक्रमितको संख्या शून्य प्रायः छ । ललितपुर महानगरपालिकाले ५० जना महिला र उनीहरुका बालबालिका राख्न मिल्ने गरी सञ्चालन गरेको आइसोलेसनमा ३ जना महिला मात्र बसिरहेका छन् । स्थानीय तहले निर्माण गरेको आइसोलेसन सेन्टरमा भन्दा होम आइसोलेसनमा बस्न उचित ठान्ने प्रवृत्तिका कारण पछिल्लो समयमा आइसोलेसन खाली भएको हो ।

ललितपुर महानगरपालिका कोभिड सम्पर्क अधिकृत देवी गुरुङले आइसोलेनमा संक्रमित आउन छाडेको बताए । उनले भाडामा बसेका र आफूसँग साना बच्चा रहेका महिलालाई लक्षित गरी सो आइसोलेसन सेन्टर तयार गरिएको जानकारी दिए । उनले भने– ‘घरमा बस्न रुचाएर हो वा महिलाका लागि मात्र सञ्चालन गरेको आइसोलेसन रहेको छ भन्ने विषयमा जानकारी नभएर हो सो आइसोलेसन सेन्टरमा आउनेको महिना न्यून रहेको छ ।’ ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल युथ फाउन्डेसनले पोषण पुनस्र्थापना गृहका घरमा आइसोलेसन सेन्टर निर्माण गरेको थियो । महानगरले सो आइसोलेसन सेन्टरमा समस्यामा परेका महिला र उनका बालबच्चालाई ल्याउन पटकपटक आग्रह गरिसकेको छ ।

उत्कृष्ट व्यवस्थापन गर्दासमेत आइसोलेसनमा बस्ने महिला आउन छाडेको गुरुङको भनाइ थियो । सो आइसोलेसनमा बस्ने महिलालाई औषधीदेखि खानालगायत व्यवस्थापन महानगरको सहयोगमा फाउन्डेसनले गर्दै आएको थियो । आइसोलेसन नभएको हल्ला चलिरहेको अवस्थामा महानगरले नै सञ्चालन गरेको आइसोलेसनमा संक्रमित महिला आउन छाडेपछि महानगरले कारण खोजी गरिहेको छ । होम आइसोलेसनमा थुप्रै महिला बसिरहेका छन्, तर महानगरको आइसोलेसनमा बस्ने महिला भेटिएकै छैन ।

चाहना नभएर भन्दा पनि सरकार वा स्थानीय निकायले निर्माण गरेको आइसोलेसनको विषयमा नकारात्मक हल्ला चलेको कारण राजधानीको ललितपुर महानगरले सञ्चालन गरेको महिला बस्ने आइसोलेसन खाली भएको हो । महानगरका कोभिड सम्पर्क अधिकृत गुरुङले भने– ‘लौन तपाईंहरुले एउटै घरमा बालबच्चासहित एउटै कोठामा बसिरहेका संक्रमित भएको जानकारी भए हामीलाई भन्नुस् न । हामीले नमुनाका रुपमा स्थापना गरेको यो आइसोलेसनमा अहिले महिला बस्न नआउँदा अचम्मित भएका छौं ।’ सो आइसोलेसनमा फाउन्डेसनका स्वंसेवकले योगा सिकाउने, बिहान, दिउँसो बेलुका खान दिनेलगायतका थुप्रै सुविधा दिएको छ । सरकारले बजेट उपलब्ध गराएपछि सहयोग गर्ने सर्तमा फाउन्डेसनले सबै सेवा दिइसकेको सम्भवतः उपत्यकाको एक मात्र महिला आइसोलेसन सेन्टरको विषयमा जानकारी नभएको कारण संक्रमित महिला आउन नसकेको हुन सक्ने महानगरको भनाइ छ ।

करिब ३ महिनादेखि महिलाका लागि मात्र सञ्चालित सो आइसोलेसन सेन्टरमा शुरुआती चरणमा केही महिलाहरु बसेका थिए । पछि सो क्रम घटेर ३ जनामा पुगेको छ । महानगरले सो आइसोलेसनमा बस्ने संक्रमितलाई स्यानिटाइजर, पीयूष, मास्क, पञ्जा, थर्मोमिटर, स्यानिटरी प्याडसहितको डिगनिटी किट बक्ससमेत उपलब्ध गराएको थियो । महानगरले असोज १ गतेदेखि किट दिन शुरु गरेको थियो । करिब ४ हजारको हाराहारीमा संक्रमित रहेको ललितपुरमा आइसोलेसन तयारी अवस्थामा रहँदा पनि आउन नखोज्नु सरकारको व्यवस्थापनमा देखिएको कमजोरीको झल्को हो ।

उपत्यकामा १८१ आईसीयू र ७६ भेन्टिलेटर

सरकारले कोरोना भाइरसका गम्भीर संक्रमितलाई उपचार गर्न काठमाडौंमा उपत्यकामा १ सय ८१ आईसीयू र ७६ भेन्टिलेटर भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ८२ आईसीयू र २७ भेन्टिलेटरमा गम्भीर संक्रमितको उपचार भइरहेको जानकारी दिए । उनले अझै ९९ आईसीयू र ४९ भेन्टिलेर खाली नै रहेको बताएबम छन् । उनले अहिलेसम्म २ सय ३५ आईसीयू र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका, तीमध्ये बागमती प्रदेशमा १ सय २८ जना आईसीयू र ३० जना भेन्टिलेटरमा रहेका बताए । मुलुकभर २ हजार ६ सय आईसीयू र ९ सय भेन्टिलेटर रहेका छन् । बिहीबार काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० जना कोरोनाका संक्रमित भेटिएका छन् । उपत्यकामा अहिलेसम्म ३६ हजार ३ सय ११ जना संक्रमित फेला परेका छन् ।

प्रवक्ता डा. गौतमले कोभिड १९ अस्पताललाई कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि पूर्ण तयारी साथ राखेको जानकारी दिए। आकस्मिकसहित सबै सेवा पनि २४ घण्टा खुला गरिएको उनले बताए । उनले सामान्य लक्षण र लक्षणविहीन संक्रमितहरुलाई मन्त्रालयले तोकेको मापदण्ड पूरा गरी घरकै आइसोलेसनमा बस्नसमेत अनुरोध गरे । नेपाल समाचारपत्र दैनिक