८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब !

गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब !
अ+ अ-

काठमाडौं । गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला अर्थात् करिब दुई किलोभन्दा बढी सुन अनियमितता भएको भेटिएको हो ।

अष्टदलको मूर्तिमा साविकमा ३७९ तोला सुन थियो । मर्मत सम्भार गर्ने क्रममा निकालेर जोख्दा २९४ तोलामात्र भेटिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । अष्टदलमा ८५ तोला सुन अनियमितता भएको भेटिएको छ । यसैगरी भैरवको मूर्तिमा साविकमा ३३४ तोला सुन भएकामा मर्मत सम्भारका क्रममा निकालेर जोख्दा २४५.५ तोलामात्र पाइएको छ । भैरवको मूर्तिबाट ८८.५ तोला सुन गायब भएको छ । 

“साविकको सुन गायब भएपछि रु दुई करोड ११ लाख खर्च गरी कोषले सुन थपेर अष्टदल र भैरवको मूर्ति पुनःनिर्माण गरेको छ, सुनका दुवै संरचना विसं २०५७ मा निर्माण भएको हो, १८/१८ वर्षमा सवा दुई करोडको सुन अनियमितता भयो भने यो रकम कसले व्यहोर्ने ?” – उहाँले भन्नुभयो ।

गुह्येश्वरी मन्दिर कोष मातहत नै भएपनि यहाँको व्यवस्थापन गुठी संस्थानले गठन गरेको समितिले गर्दै आएको छ । द्वैध स्वामित्वका कारण मन्दिरमा बेला बेलामा विवाद आउने गरेको छ । व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी गुह्येश्वरी मन्दिरमा अण्डा, जाँड, रक्सी जस्ता तामसी चीज पनि चढाइने भएकाले सुन खिइएर गएको दावी गर्नुहुन्छ । 

कोषले व्यवस्थापन समिति र पुजारीलाई समेत विसं २०७५ भदौ ६ गते नै सुन गायब भएको विषयमा सत्य तथ्य खुलाउन भनी पत्राचार गरेको थियो । समिति र पुजारीबाट चित्तबुझ्दो जवाफ नआएपछि छानबिन समिति बनाएर यससम्बन्धमा गहिरिएर अध्ययन गर्न लागिएको कोषाध्यक्ष थापाले बताउनुभयो ।

सुनको खिइएर बनेको टुक्रासमेत नदेखाइएकाले छानबिन गर्न लागिएको हो । अण्डा, जाँड, रक्सीले सुन खिइएको भए प्वाल परेको, खिया लागेको हुनुपर्नेमा त्यस्तो समेत नभेटिएको कोषले जनाएको छ । छानबिन समितिमा संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालय, संस्थानलगायत सरोकार भएका निकायका प्रतिनिधिसमेत राख्ने गृहकार्य भइरहेको छ ।

यस क्रममा १८ वर्षका अवधिमा दुई किलोभन्दा बढी सुन अण्डा, जाँड, रक्सीले खिइन्छ कि खिइन्न भनी प्रयोगशालामा परीक्षण समेत गरिने भएको बुझिएको छ । अष्टदल एवं भैरवको मूर्तिमा समितिका पदाधिकारी र पुजारीको नाम राख्न कोषलाई दबाब दिइएको थियो । नाम नराखिएपछि समितिले अष्टदल स्थापना गर्ने साइत निस्केन भन्ने निहुँमा राख्न दिएको छैन । मर्मतसम्भार गरिएको अष्टदल र भैरवको मूर्ति घटस्थापनाका दिन गर्भगृहमा स्थापना गर्ने कोषको तयारी थियो । समितिले अहिले साइत निस्किएन एक महिनापछि मात्र राख्नुपर्छ भनी पन्छाएको छ  । 

गुह्येश्वरीका सत्तलसमेत कोषले नै पुनःनिर्माण गरेको हो । रु २० करोडको लागतमा मन्दिर, सत्तललगायत ऐतिहासिक एवं धार्मिक महत्वका संरचना पुनःनिर्माण गरिएको हो । पुनःनिर्मित सत्तल समितिले अनधिकृत रुपमा उपयोग गर्दै आएको छ । समितिका पदाधिकारीले आफन्तलाई यहाँ बाससमेत दिएको कोषको भनाइ छ ।

गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको अष्टदलमा कोषले ७५ किलो चाँदीको घेरा थप गरेको छ । मन्दिरमा मर्मतसम्भार एवं पुनःनिर्माण कोषले गर्ने तर त्यसको दुरुपयोग समिति र पुजारीका तर्फबाट भएकाले गुह्येश्वरीको समग्र विषय छानबिन गर्ने कोषको तयारी छ । गुह्येश्वरीका नाममा रहेको अन्य सम्पत्तिसमेत छानबिनका दायरामा आउने भएको छ ।

पशुपति क्षेत्रमा रहेको सबै मठमन्दिरको व्यवस्थापन गर्ने कार्यक्षेत्र पशुपति क्षेत्र विकास कोष ऐनले दिएको तीन दशक बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । गुह्येश्वरी क्षेत्र र चाबहिल क्षेत्रका मठमन्दिर कोष मातहत आउन सकेका छैनन् । चन्द्रविनायक मन्दिर क्षेत्रमा पनि गैरसरकारी संस्थाको रजाइँ भइरहेको  छ ।

यसका कारण ती मठमन्दिर र त्यससँगैको सार्वजनिक जग्गामा अनियमितता भएको स्थानीयवासीको गुनासो छ । कोषका सदस्य सचिव डा प्रदीप ढकाल पशुपति क्षेत्रका सबै मठमन्दिर कोष मातहत नै ल्याउने, नियमावली बनाई भेटीघाटी पारदर्शी गर्नेलगायत तयारी भएको बताउनुहुन्छ ।

यस पटक पर्व पूजा रोक 
गुह्येश्वरी मन्दिरमा राजा मानदेवका पालादेखि नै घटस्थापनाका दिनदेखि अमालकोट कचहरी कार्यालयका तर्फबाट पूजा, चण्डी पाठ गर्ने परम्परा रहेको स्थानीयवासी एवं कोषका पुराना कर्मचारीको भनाइ छ । पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्वसदस्यसचिव डा गोविन्द टण्डन यससम्बन्धी ऐतिहासिक दस्तावेज, शिलालेखलगायत केही पनि प्रमाण फेला नपरेको बताउनुहुन्छ ।

शाहकाल अर्थात् विसं १९७४ देखि भने नियमित घटस्थापनाका दिनदेखि महानवमीसम्म अमालकोट कचहरीबाट पूजा आराधना हुँदै आएको उहाँ बताउनुहुन्छ । यस वर्ष घटस्थापनाका दिन कात्तिक १ गते विशेष पर्व पूजा गर्र्न कोषाध्यक्ष थापाको नेतृत्वमा पुजारी विष्णुप्रसाद नेपाल, कचहरीका द्वारे पूर्ण डङ्गोल, कर्मचारी वरुण खतिवडासहित चारजना मन्दिरभित्र प्रवेश गर्न खोज्दा पुजारी जैन कर्माचार्यले रोकेको कोषले जनाएको छ ।  

कोष स्थापनापछि अमालकोट कचहरी कार्यालय कोष मातहत राखिएको थियो । अमालकोट स्थापना भएदेखि नै राज्यका तर्फबाट गुह्येश्वरी मन्दिरमा विशेष पर्व पूजा, दुर्गा सप्तशती (चण्डी) पाठ गराउने परम्परा थियो । कोषमा ३५ वर्षदेखि कार्यरत कर्मचारी वासुदेव रिमाल राज्यका तर्फबाट गरिने पूजा रोक्दा धार्मिक आस्थामा चोट पुग्ने र देशलाई असर गर्न सक्ने बताउनुहुन्छ ।

गुह्येश्वरीमा धर्म, संस्कृति एवं परम्परा मास्ने, भेटीघाटीलगायत आय पारदर्शी नराख्ने, ऐतिहासिक स्थलको संरक्षण गर्नुको सट्टा मासेर अनियमितता गर्ने क्रम बढेको कोषको आरोप छ । विसं २०६६ मा पशुपतिनाथ मन्दिरको भेटीघाटी पारदर्शी गर्ने गरी नियमावली ल्याउँदा नै यस क्षेत्रका सबै मठमन्दिरलाई यो दायरामा ल्याउने प्रतिबद्धता भने कोषले अझै पूरा गर्न सकेको छैन । संस्थान र कोषको दुईथरी स्वामित्व हुँदा कतिपय मठमन्दिरमा हाल नित्य पूजासमेत हुन छाडेको छ । सदस्य सचिव ढकाल यो प्रतिबद्धता छिटो पूरा गर्ने तयारी भएको बताउनुहुन्छ ।