काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको छ ।
यस कुराको पुष्टि स्वयं प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य जारी गरेर पुष्टि गरेका हुन् । उनले रअ प्रमुखसँग प्रधानमन्त्री केपी ओलीको भेटवार्ता भएको जानकारी दिँदै वक्तव्य जारी गरेका छन् । ‘उहाँ भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’ थापाको बक्तव्यमा भनिएको छ ।
भेटका क्रममा गोलयले नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको र यी दुई देशबीचमा कुनै पनि समस्याहरू भएमा वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले विज्ञप्तिमा बताएका छन् ।
तर यहाँ उल्लेख गर्न खोजिएको प्रसंग चाहिँ प्रधानमन्त्रीको भेटका बारेमा होइन, अरु नेताहरुले नभेटेको भनिएको बारेमा हो । अरु जब यता प्रधानमन्त्रीले हिजो नै भेट गरेको कुरा बाहिर आयो तब सो चर्चा चलेपछि पूर्व प्रधानमन्त्रीद्धय एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको प्रष्ट पारेका छन् ।
उनीहरुले एकाएक सार्वजनिक मिडियामा देखिँदै आफूले भेट नगरेको जिकिर गरेका छन् । यो उनीहरु तर्सिएको अवस्था देख्दा लाग्छ चोरको खुट्टा काट्ने भन्दा उसले खुट्टा उचालेको जस्तो देखिएको छ । र उनीहरुलाई यसो किन गर्नु परेको हो, उनीहरुले आफूले भेटघाट गरेकै छैन भनेर किन टक्टकिनुपरेको हो भन्ने कुरा नै कतै स्पष्ट छैन ।
तर उनीहरुले भेट गरेका छैन भनेर भन्दा भन्दै पनि भेटघाट भने गरेकै छन् । प्रधानमन्त्रीले त भेट गरेको भनेर स्पष्ट नै गरिसकेका छन् उनका आफ्ना सल्लाहकारमार्फत । त्यसो त भारतबाट राष्ट«पति या प्रधानमन्त्री नै आएजस्तो गरी आएकै दिन एकजना सरकारी अधिकारीले हाम्रो देशका कार्यकारी प्रमुखलाई कसरी भेट्न पाए ? त्यसको कुनै प्रोटोकल हुन्छ कि हुदैन ? या उनले भेटघाटको समय भारतमै मिलाएर आए या यहाँ दूताबासले गरिदियो ? यी यावत प्रश्नहरु थाँती नै छन्, जुन हरेक भारतीयले गर्ने नेपाल भ्रमणका बेला उठी नै रहन्छ । अनि यो टिप्पणीको आसय यहाँनेर यो पनि होइन, जसको खोजी पछि नै होला ।
तर यहाँ उठाउन खोजिएको विचारको प्रसंग चाहिँ पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव नेपाल र प्रचण्डले किन भेटेर पनि भेटेका छैनौँ भनेर तर्सिनुपरेको हो भन्ने नै हो । कुनै एक देशका सरकारी अधिकारी नेपाल आउँछन् र आएकै साँझ सीधै बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेट्छन् । लगत्तै तीन जना पूर्वप्रधानमन्त्रीलाई भेट्छन् । तर उनीहरु भेटेकै होइन भनेर किन भन्दैछन् ? रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएको छ । सो टोलीले एकपछि अर्कोगरी नेपालको अहिलेको राजनीतिका प्रभावशाली नेताहरुलाई भेटवार्ता गरिसकेको छ । तर पनि उनीहरु भेट भएकै छैन भन्दैछन् । सरासर सम्बन्धको मात्र कुरा हो भने उनीहरुले भेटेको छैन भनेर तर्सिनै पर्दैन । किनभने भारत हाम्रो छिमेकी देश हो, उसँग अहिले नेपाल युद्ध या द्धन्द्धमा छैन र सम्बन्ध असहज पनि छैन । त्यसैले कसैले पनि यस्तो अवस्थामा उत्तर र दक्षिण कोरियाका अधिकारीहरुले भेटेजस्तो गरी होइन र छैन भन्ने पर्दैन ।
तर उनीहरुले भएको भेटलाई पनि भएकै होइन भनेर यसरी बाहिर आएका छन् कि यसले त ती भेटहरुमा के कस्ता कुराकानी या छलफल भएका थिए भनेर पनि आशंका गर्नुपर्ने अवस्था दिलाएको छ । के त्यसो भए त्यस भेटवार्तामा यति खतरानाक कुरा भएको थियो कि यदि त्यो बाहिर आयो भने या त्यसमा भएका कुराहरु कार्यान्वयनमा आए भने त्यसले नेपाल र नेपालीलाई राम्रो गर्दैन भनेर उनीहरु तर्सिनु परेको हो भनेर नेपाली जनताले बुझ्ने त रु होइन र भेटघाट सामान्य हो भने भेट गरेको कुरा बाहिर ल्याउन किन यसरी तर्सिनु पर्यो र रु सरकार स्थायी भए पनि यहाँको राजनीति तरल नै छ भन्ने गरिन्छ । र दक्षिणको प्रभावले त्यो तरलतालाई जता बगाइदिन पनि सक्छ पनि भनिन्छ ।
त्यसैले कुराकानी यसै सतहमा पो भएको हो कि ? र त्यसैले हाम्रा नेताहरु बरु भेटेकै छैन भनेर उम्किन खोजेका हुन् कि ? वास्तवमा यो सबै नहुन पनि सक्छ । तर पनि नेताहरुले जब साँचो बोल्न मान्दैनन् त्यतिन्जेल उनीहरुतर्फ यी र अरु अनेक प्रश्नहरु तेर्सिन सक्छन् ।











