काठमाडौँ । कानूनविद्हरुले स्वर्गीय सुवाषचन्द्र नेम्वाङको समन्वयकारी व्यक्तित्वको चर्चा गरेका छन् ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले नेम्वाङलाई अहिलेको संविधानको पिताको रुपमा पनि चित्रण गर्नुभयो । सोमवार सर्वोच्च अदालत बार एशोसिएशनले प्रकाशित गरेको स्मृतिमा सुवाष नेम्वाङ स्मृति ग्रन्थ लोकापर्ण कार्यक्रममा बोल्दै उहाँले संक्रमणकालीन न्यायलाई आजको अवस्थामा पु¥याउने पनि उहाँले निर्वाह गर्नुभएको भुमिको खुलेर प्रशंशा गर्नुभयो ।
न्यायाधीश प्रधानले भन्नुभयो, सबैले भनेको उहाँ एकदमै सकारात्मक र मैले स्मरण गर्दा खेरी मैले भने कि फाउन्डिङ फादर अफ कन्टिच्युशन पनि भन्छु । यसको फाउन्डिङ फादर नैहो उहाँ । सबैले संक्रमणकालीन न्यायलाई कानूनको माध्यमबाट आज यहाँ पु¥याउनका लागि पनि उहाँको ठूलो योगदान छ भन्ने कुरा पनि म स्मरण गर्न चाहन्छु ।
कार्यक्रममा एमाले नेता भीम रावलले स्वर्गीय नेम्वाङले देशको निम्ति ठूलो योगदान गर्नुभएको चर्चा गर्नुभयो । कूटनीति, राजनीति, विवाद मिलाउने विषयमा उहाँ सिपालु भएको र त्यसैले आफूसँग उहाँको मित्रता कायम हुन गएको पनि उहाँले स्मरण गराउनु भयो । नेम्वाङलाई बहुआयामिक व्यक्तित्वको रुपमा उल्लेख गर्दै नेता रावलले उहाँले पार्टीमा आउने गरेको झटका मिलाउन काममा पनि नेतृत्वदायी भुमिका खेल्ने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सुवाषजीको बहुआयामिक व्यक्तित्व थियो । उहाँ मिठो बोलेर ठूलाठूला कुरा पल्टाईदिने । त्यस्तो विशेषता उहाँको । मैले त खेलमा पनि भनेको छु–उहाँ कूटनीतिमा पनि उत्तिकै सिपालु । र कुरा मिलाउन पनि सिपालु । उहाँसँगको मेरो मित्रता पनि यी सबै कुराहरुमा मिसिन्थ्यो । पार्टीमा कहिलेकाँही झटका आउँथ्यो नि । त्यस्ता कुराहरुमा पनि मिसिन्थ्यो । उहाँले देशको निम्ति धेरै ठूलो योगदान गरेर जानुभएको छ । ’
एमाले सांसद सुहाङ नेम्वाङले आफ्ना पिता सुवाषले सिंगै मुलुकको एकतामा जोड दिएको र त्यसै बाटौबाट मात्रै मुलुकलाई समृद्धितर्फ अघि बढाउन सकिने बताउनु भयो । उहाँले नेपाली राजनीतिलाई सकारात्मक बाटोमा अघि बढाउन आफ्ना बुबा सुवाषको अभाव अहिले पनि खडकीरहेको बताउनु भयो ।
सांसद नेम्वाङले भन्नुभयो, ‘अहिलेको जुन राजनीतिक परिस्थिति छ । त्यो राजनीतिक परिस्थितिमा कहाँ कहाँ उहाँको उपस्थिति खडकिरहेको छ कि जस्तो मलाई लाग्छ । उहाँको जुन तरिकाको सकारात्मकता थियो, जुन तरिकाको विनम्रता थियो । अहिलेको राजनीतिमा पनि त्यसको ठूलो आवश्यक्ता छ कि भन्ने मलाई लाग्छ । हामी नैरश्यता र नकारात्मकतालाई मात्र बेचेर हिँडिरहेको जस्तो लाग्छ । हामीले विनम्रता भन्ने चिज त परै जाओस, त्यसलाई हामीले सम्झन पनि नचाहेको जस्तो लाग्छ । त्यही कारणले गर्दा अहिलेको परिस्थितिमा उहाँको उपस्थिति चाहीँ साह्र खडेकेको जस्तो आभास मलाई भएको छ । त्यही कारणले गर्दाखेरी म भन्न चाहन्छु । उहाँले जिन्दगीभर एउटै भाषण गर्दै हिँड्नुभयो ।
एकताको भाषण गर्दै हिँड्नुभयो, एकताको भाषण गर्दागर्दैै उहाँ बितेर जानुभयो । तर हामीले त्यो कुरा बुझ्यौ कि बुझेनौ भन्ने चाहीँ मलाई ठूलो चिन्ता लागेको छ । म यहीबाट पनि आग्रह गर्न चाहन्छु–हामीले सहमती र सहकार्यको कुरा गर्नुपर्दछ । हामीले सकारात्मकताको कुरा गर्नुपर्दछ । हामीले विनम्रताको कुरा गर्नुपर्दछ । उहाँले सधैं भाषणमा यही कुरालाई जोड दिएर भन्नुभयो, यसैले गर्दा मुलुक एक ठाउँमा आउँछ, समृद्धितिर हामी जानसक्छौं । बनेको कानूनलाई कार्यान्वयन गर्नसक्छौं । भनेर उहाँले जहिल्यै वकालत गर्दै हिँड्नुभयो । ’
नेम्वाङले पिता सुवाषको विनम्रता, शालिनताबाट सिकेर राजनीतिक दलहरु अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।









