७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण अप्ठेरोमा परे प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालयको बैठक टार्दै जाँदा आफैं अप्ठेरोमा परेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय बैठक राख्न शनिबार अल्टिमेटम दिएका थिए । तर ओलीले बैठक बोलाउनुको साटो नेताहरूलाई बालुवाटार बोलाएर छलफल गर्दै आएका छन् ।

पार्टीमा देखिएको विवाद समाधान गर्न शीर्ष नेताका साथै पूर्वमाओवादी समूहका नेताहरूले सचिवालय बैठक तत्कालै बोलाउन आग्रह गरिसकेका छन् । यसअघि प्रधानमन्त्री ओलीप्रति सहानुभूति राख्ने नेताहरूले समेत बैठकबाटै समस्याको समाधान खोज्न आग्रह गर्न थालेका छन् । ‘केही समयअघि ओलीप्रति सहानुभूति राखेका र पूर्वमाओवादी खेमाका नेताहरूले पनि बैठक राखेर विवाद अन्त्य गर्न दबाब दिँदा प्रधानमन्त्री झन् अप्ठेरोमा परेका छन्’, नेकपा उच्च स्रोतले भन्यो । पार्टी महासचिव विष्णु पौडेलले भने केही दिनमै सचिवालय बैठक बस्ने बताएका छन् । ‘परामर्शपछि सचिवालय बैठक बस्छ’, उनले भने ।  

तोकेको समयसम्म पनि ओलीले सचिवालय बैठक नबोलाएपछि सोमबार साँझ दाहालसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटारमा छलफलमा जुटेका थिए । उनीहरू मंगलबार एक दिन कुर्ने निष्कर्षमा पुगेको स्रोतले बतायो । त्यसअघि बिहान महासचिव पौडेल खुमलटार पुगेर ओली स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्न तयार रहेको र विधानअनुसार बैठक बोलाउन लागेको जानकारी गराएका थिए । पौडेलसँगको भेटमा दाहालले सचिवालय बैठक तत्कालै बोलाएर विवादित विषयबारे छलफल गर्नुपर्नेमा जोड दिएका थिए । दाहालले सचिवालय बैठक आफैं पनि बोलाउन सक्ने संकेत गरेका थिए । स्रोतका अनुसार दाहालले पौडेलसँग भने, ‘कार्यकारी अध्यक्षको हैसियतले सचिवालय बैठक बोलाउन म पनि सक्छु तर ओलीजीले नै बैठक बोलाऊँ भन्नुभयो भने झन् सहज हुन्छ, विवाद हुन्न । पार्टी एकीकरणको मर्म र भावनाको सम्मान हुन्छ त्यसकारण चाँडै बैठक बसौं ।’ 

महासचिव पौडेलले भरसक चाँडै नै सचिवालय बैठक बस्ने बताउँदै दुई अध्यक्षबीच देखिएको संवादहीनता र दूरी कम गर्न आग्रह गरेका थिए । ‘पार्टी एकता दुई अध्यक्षले नै गरेको, त्यसलाई जोगाउने काम पनि दुई अध्यक्षकै भएकाले समस्याको समाधान भनेकै संवाद हो । त्यसकारण दूरी बढाएर वा एकले अर्कालाई दोष देखाएर पन्छिन मिल्दैन । संवादबाटै समस्या समाधान गर्न आग्रह गरिएको छ’, महासचिव पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो ।

महासचिव पौडेलले दुई अध्यक्ष र नेता नेपालबीच संवाद होस् भन्ने सबैको चाहना रहेको र संवादबाटै बैठकको अजेन्डा तय होस् भन्ने आफूहरूको आग्रह भएको बताएका थिए । दाहालले भने एक्लाएक्लै संवाद गर्नुभन्दा सबै विषय बैठकमै राख्ने र त्यहीं छलफल गर्ने बताएका थिए । स्रोतका अनुसार महासचिव पौडेलले तीन नेताबीच अनौपचारिक छलफल गरेर बैठकको अजेन्डा तय गर्न प्रस्ताव गरेका थिए ।  

बालुवाटार पुगेका चार नेता प्रधानमन्त्रीलाई नभेटी फर्किए
नेकपाभित्रको आन्तरिक विवाद समाधान गर्न अग्रसर देखिएको तत्कालीन विवाद समाधान कार्यदलका सदस्यहरु सोमबार बालुवाटार पुगेर पनि प्रधानमन्त्री ओलीसँग भेट नगरी फर्किएका छन् । ओलीसँग छलफल गर्न तत्कालीन कार्यदलका चारजना प्रधानमन्त्री निवास पुगेका थिए ।  

कार्यदलका ६ सदस्यमध्ये दुईजना अनुपस्थित भएपछि उनीहरू त्यत्तिकै फर्किएका हुन् । तत्कालीन कार्यदलका संयोजक एवं महासचिव पौडेलसहित सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल बालुवाटार पुगेका थिए । कार्यदलका सदस्यद्वय जनार्दन शर्मा र पम्फा भुसाल बालुवाटार गएनन् । शर्मा भने सोही समयमा दाहाललाई भेट्न खुमलटार पुगेका थिए ।  

बालुवाटार पुगेका चारैजना पूर्वएमालेका नेता भएका कारण सन्देश राम्रो नजाने भन्दै प्रधानमन्त्रीलाई नभेटी फर्किएको एक नेताले बताए ।  

‘प्रधानमन्त्रीसँग भेट गरेर गत भदौ २६ को स्थायी कमिटीको निर्णय कार्यान्वयनमा कहाँ समस्या परेको हो भन्ने विषयमा छलफल गर्न बालुवाटार गएका थियौं । कार्यदलमा रहेका जनार्दन शर्मा र पम्फा भुसाल आउनुभएन अनि प्रधानमन्त्रीलाई भेट नगरी फर्कियौं’, रावलले भने । यसअघि पार्टीमा विवाद हुँदा साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

अनुशासन आयोगको चासो  
नेकपा केन्द्रीय अनुशासन आयोगले बैठक बोलाउने कुरालाई प्रतिष्ठाको विषय नबनाउन नेताहरूलाई आग्रह गरेको छ । आयोगका अध्यक्ष अमृत बोहोराले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । ‘पार्टीका जिम्मेवार नेतृत्वगणप्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो । पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ । फुट र विभाजन प्रतिगामी कुरा छन्’, विज्ञप्तिमा उल्लेख छ ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।