८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर



अ+ अ-

काठमाडौँ । डेङ्गी रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ ।

आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँको अध्यक्षतामा साझेदार अधिकारीहरुसँग बसेको बैठकले व्यक्तिको घरमाभन्दा सार्वजनिक निकायका भवन कम्पाउण्ड बढी जोखिममा रहेको बताउँदै तालिकावद्ध सफाइको संस्कृति चलाउनु पर्ने खाँचो देखाइएको छ । यसपछिका कम्तीमा ४ हप्ता डेङ्गी नियन्त्रणका कार्यक्रममा थप सक्रिय हुनु पर्ने, डेङ्गीबाट बच्न हरेक व्यक्ति सचेत र सावधान हुनुपर्ने निष्कर्ष निकालियो ।

बैठकमा डेङ्गी संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले, पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय राखि नरहन सचेतनामूलक कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

महामारी रोग नियन्त्रणका लागि महानगरपालिकाको एक्लो प्रयासले मात्र रोकथाम हुन नसक्ने भएको जनाउँदै प्रशासन विभागका प्रमुख नमराज ढकालले, पानी जम्न नदिनु नै सम्भावित जोखिम घटाउने उपाय भएकोले यसमा व्यक्ति व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सार्वजनिक निकायले कार्यक्रमको नेतृत्व गर्ने र सर्वसाधारणले यो कार्यक्रम आफ्नै सुरक्षाका लागि हो भनेर ग्रहण गर्ने वातावरण सिर्जना गर्नमा जोड दिँदै स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवालले भन्नुभयो, ‘संक्रमण हुन्छ कि भनेर डर राख्नु र सावधानी अपनाउनु पर्छ, संक्रमण भइ हाल्यो भने चाहिँ आत्तिनु वा डराउनु हुँदैन । आत्मविश्वाशले रोगसँग लड्न सघाउ हुन्छ ।’

सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यकर्मीहरु, वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघ संस्था र क्लबका प्रतिनिधि, नगर प्रहरी, कर्मचारीलाई लार्भा नष्ट गर्ने अभियानमा सहभागी गराउने योजना बनाएको छ । बैठकमा स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. ले भन्नुभयो, ‘प्रवर्धनात्मक कार्यक्रममार्फत तथ्य र सूचना प्रवाह हुनेछ ।’

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा, भेक्टर डिजिज शाखा प्रमुख डा. गोकर्ण दाहालकाअनुसार सीतापाइला, कालीमाटी, कोटेश्वरलगायत क्षेत्रमा डेङ्गीका विरामी बढेका छन् । उहाँ भन्नुहुन्छ, ‘१० जना सक्रिय विरामी भेटिएका ठाउँमा कम्तीमा १ सय जना निष्क्रिय विरामी हुन सक्छन् । यसकारण महामारी नियन्त्रणका प्रभावकारी चाहिएको हो ।’

बर्षायाममा साउन, भाद्र, असोज र कात्र्तिक महिनासम्म यस रोगको संक्रमण दर तीब्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा महानगरले, डेङ्गी रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न सकिन्छ ।

डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको छ ।
एडिस जातको संक्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्क्ने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेङ्गी रोग लाग्छ । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, वाक–वाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिन सक्छ ।