२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्जन बढी बस्तीमा खानेपानी समस्या



अ+ अ-

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजारदेखि १३ किलोमिटरको दूरीमा रहेको सोही ठाउँमा खानेपानीको विगतदेखिकै समस्या छ । घर अगाडि नै पाइप पुगेका भए पनि नियमित पानी आउँदैन । वर्षात्मा पानीको सहज आपूर्ति हुने गरेको भए पनि त्यहाँका आधा दर्जन गाउँ काकाकूल हुन्छन् ।

धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने अवस्था रहेको तुलसीपुर–३ अम्बास निवासी शशिकला विकले बताउनुभयो । उहाँका अनुसार खोलामा पालो पाउन गाह्रो पर्छ । धारामा पनि नियमित नआउने र खोलामा पनि पालो कुुर्नुपर्ने अवस्था छ ।

सडक र विद्युत् पुगे पनि सहजै खानेपानी पुग्न नसकेको उहाँको गुनासो छ । “घरमा पानी सकिएको हुन्छ, पानी ल्याएपछि खाना पकाउने भन्ने हुन्छ”, उहाँले भन्नुभयो, “तर कहिल्यै १२ बजेसम्म पनि पानी ल्याइ नपुर्‍याउँदा त्यतिबेलासम्म खाना पाकेको हुँदैन ।”

गाउँका सबै मान्छे दुईतीन घण्टा हिँडेर धारेखोला गएर पानी ल्याउने गर्छन् । त्यहाँ पनि पालो पाइँदैन । मुहान सानो भएकाले पहिले गएकाले पानी पाउँछन् भनेपछि गएकाहरुले पानी पाउन पनि मुस्किल हुने गरेको स्थानीय सावित्रा विकले बताउनुभयो । “पानी ल्याउन हामी राति ३ बजे उठेर जानुपर्छ, जो अघि गयो, उसैले पानी पाउने र पछि गएकाले पानी पनि नपाउने अवस्था छ”, उहाँले भन्नुभयो, “पानी ल्याउनलाई राति उठ्नुपर्छ ।”

पालो पाएपछि बिहान ६ बजे घर पुगिन्छ नपाए भने १०/११ बज्ने गरेको उहाँहरुको गुनासो छ । उहाँहरुका अनुसार त्यहाँ थापानी र घुटघुतेबाट पानी ल्याउने गरिएको छ । त्यहाँ गाउँका दुई ट्याङ्की छन् । तीमध्ये एउटा ट्याङ्कीको कल्लेबल्ले र अर्को ट्याङ्कीको अम्बास पानीका लागि पाइपबाट पठाउने गरिन्छ । त्यहाँ पानी नपाउने समस्याले वर्षांैदेखि आजित भएको स्थानीय मालबहादुर वलीले बताउनुभयो ।

अहिले त्यहाँ सडक र विद्युत् पुगेको छ । विद्युत् पनि वर्षा लाग्नैबित्तिकै जाने गर्छ । चार वर्षअघि त्यहाँ विद्युत् जडान गरिएको हो । उहाँका अनुसार बीचबीचमा विद्युत् जाने आउने समस्या भइरहने गर्छ । “एउटा रुख ढल्यो कि विद्युत् बन्द हुन्छ, त्यसलाई मर्मत गर्न कसैको पनि चासो हुँदैन”, स्थानीय अगुवा लीलामणि बाँठाले भन्नुभयो, “सडक पनि वर्षात्मा त्यस्तै समस्या हुन्छ ।” त्यहाँ कल्ले, बल्ले, टुनापानी, नाउला, अम्बास, सितधारालगायतका गाउँहरु छन् । त्यहाँ करिब तीन सय बढी घर रहेका छन् । रासस