१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने

टीकापुरमा फोहर बहान भित्रिएपछि नगर सफा

टीकापुरमा फोहर बहान भित्रिएपछि नगर सफा
अ अ+ अ-

टीकापुर । कैलालीको टीकापुरमा फोहर बहान भित्रिएपछि आजभोलि बजार क्षेत्र सफा देखिन थालेको छ । फोहर बहान भित्रिएसँगै पालिकाले दैनिक फोहर सङ्कलनलाई तीव्रता दिएपछि नगर सफा देखिन थालेको स्थानीय बताउँछन् ।

नगरपालिकाले एकाबिहानै सरसफाइसम्बन्धी सन्देश बजाउँदै बजार क्षेत्रमा फोहर सङ्कलन गर्ने गरेको छ । नगरपालिकाको फोहर बहान फोहर बोक्न आउँदा ‘सरसफाइ गरौँ’ भन्ने सन्देशमूलक गीत बजाउँदै आउने गरेको स्थानीय गणेश चौधरीले बताउनुभयो । टीकापुर बजार क्षेत्रमा दैनिक पाँच ट्राली फोहर सङ्कलन हुने गरेको छ ।

फोहर सङ्कलनका लागि नगरपालिकामा नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत गत वर्ष नै ‘गारबेज कम्प्याक्टर मेसिन’ (फोहर बोक्ने मेसिनसहितको बहान) समेत प्राप्त भएको छ । उक्त मेसिन सुदूरपश्चिममै ठूलो रहेको नगरपालिका कार्यालयले जनाएको छ । पालिकाभित्र फोहर सङ्कलन गर्न दुई वटा ट्राली र एउटा फोहर बहान दैनिक प्रयोग हुने गरेको छ । साथै १४ जना सरसफाइकर्मी दैनिक सरसफाइमा जुट्ने गरेका छन् ।

“बिहान ५ बजेदेखि सरसफाइ सुरु गर्छौँ, नगरवासीले डस्टविन (फोहर फाल्ने भाडो)मा फोहर राखिदिएमा सहज हुने थियो”, सरसफाइकर्मी कालुराम डगौँरा थारुले भन्नुभयो, “फरकफरक खालका फोहर फरक भाँडोमा राखिदिएमा हामीलाई सजिलो हुने थियो । नगरवासीले सबैखाले फोहर एउटै डस्टविनमा राख्ने गर्नुहुन्छ ।”

विगतमा बजार क्षेत्रमा मात्र सरसफाइ गरिने गरिएको थियो । हाल सेवा विस्तार गरी वडा नं १ का केही ब्लक, वडा नं ५ को टीकापुर पार्क रोड, वडा नं २, वडा नं ३ का बजार क्षेत्रमा समेत सरसफाइ गर्न थालिएको डगौँराले जानकारी दिनुभयो ।

सरसफाइकर्मी सञ्जु कुश्मीले हरेक दिन बिहान ६ घण्टा सरसफाइमा खट्ने गरेको बताउनुभयो । “सरसफाइ गर्दा चोटपटक लाग्ने, कहिलेकाहीँ सुई (सिरिन्ज), सिसाले काट्ने डर हुन्छ”, उहाँले भन्नुभयो, “फोहरमा काम गर्दा विभिन्न रोग लाग्ने, चोटपटक लाग्ने भएकाले पालिकाले स्वास्थ्य बीमा गरिदिनुपर्ने माग गरिरहेका छौँ ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्द्धन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ जारी गरी देशका विभिन्न पालिकामा उक्त कार्यक्रम लागू गरेको हो । पहिलो वर्ष टीकापुरसहित सुदूरपश्चिमका चार पालिका छनोटमा परेका छन् । टीकापुरमा फोहर व्यवस्थापन र गौशालामा ग्यास उत्पादनमा लगानी गरिएको नगरपालिकाका इञ्जिनियर नवराज जोशीले बताउनुभयो ।

“हामीले नवप्रवर्द्धन कार्यक्रममार्फत प्रदेश सरकार र स्थानीय तह मिलेर सरसफाइका क्षेत्रमा लगानी गर्‍यौँ”, उहाँले भन्नुभयो, “नगर सफा राख्न र वडा नं २ मा रहेको गौशाला व्यवस्थापन, गोबरबाट ग्यास उत्पादन, गोबर मल उत्पादनमा समेत लगानी गरेका छौँ ।”

नवीनतम सोच, अवधारणा, लगानीको ढाँचा र प्रविधिका माध्यमबाट फरक तरिकाले उद्यमशीलता, सीप विकास, वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा यस कार्यक्रमले सहयोग गर्ने इन्जिनियर जोशीको भनाइ छ ।

नगरपालिकालाई फोहर सङ्कलनमा समस्या नभएको भन्दै व्यवस्थापन तथा फोहर फाल्ने ठाउँको केही समस्या रहेको नगरपालिकाका सरसफाइ उपशाखा प्रमुख लोकबहादुर बुढाले बताउनुभयो । हाल अस्थायीरुपमा फोहर व्यवस्थापन गरिँदै आएको उहाँको भनाइ छ ।

कार्यपालिकाले टीकापुर नर्सरीको १० कठ्ठा जमिनमा ल्याण्डफिलसाइट बनाउने निर्णयसँगै बजेट व्यवस्था गरेकाले केही सहज हुने बुढाले बताउनुभयो । “अहिलेसम्म सङ्कलित फोहर व्यवस्थापनमा समस्या छ”, उहाँले भन्नुभयो, “केही दिनअघिको कार्यपालिका बैठकले ठाउँ र बजेट व्यवस्था गरेको छ । अब फोहर व्यवस्थापनमासमेत सहज हुनेछ ।” रासस