१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

चैते धानमा किसानको आकर्षण बढ्दै

चैते धानमा किसानको आकर्षण बढ्दै
अ अ+ अ-

भजनी । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते धान खेती गर्दै आउनुभएको छ । बाढी र डुबान क्षेत्रमा राम्रो उत्पादन हुने भएपछि पतीरामले दुई बिघा क्षेत्रफलमा यस वर्ष पनि चैते धानको रोपाइँ गर्नुभयो ।

राम्रो उत्पादन दिने र  वर्षात् कम भयो भने दुईपटकसम्म उत्पादन दिने भएकाले बर्खे धान रोप्न छोडेर चैते धान रोप्न थालेको पतीरामले बताउनुभयो । “उत्पादन बर्खे धानकै जस्तो हुन्छ । बर्खामा पानी कम पर्यो भने भदौमा दोस्रोपटक पनि उत्पादन दिन्छ”, उहाँले भन्नुभयो, “बर्खे धान रोपाइँ गर्दा बाढी र डुबानका कारण कहिल्यै राम्रो भएन । त्यसैले वर्षात्को समयमा धान रोप्नै छाडिदिए ।”

भजनीका रुपलाल चौधरीले एक वर्षमा तीन खेती गर्नुहुन्छ । उहाँले हिउँदे खेतीमा तोरी लगाउनुहुन्छ भने चैतमा चैते धान र असारमा पुन: धान रोपाइँ गर्नुहुन्छ । “खेती गरेरै जीवन निर्वाह गर्नुपर्ने बाध्यतामा वर्षौँदेखि छ । पहिले–पहिले बाढी र डुबान अत्यधिक हुने हुँदा हिउँदे बाली अर्थात् एउटा खेतीमात्रै गर्न सकिन्थ्यो”,  रुपलालले भन्नुभयो, “चैते धानखेती सुरु गरेपछि खेत बाँझो राख्नुपरेको छैन । उजाड देखिने उर्वर फाँट वैशाख/जेठको गर्मीमा पनि हरिया देखिन थालेका छन् ।”

भजनी–८ का किसन चौधरीले ११ वर्षदेखि चैते धानखेती गर्दै आउनुभएको छ । वर्षात्को समयमा पथरैया नदी र काढा नदीको डुबानका कारण खेती गर्न नसकिने भएपछि किसनले चैते धानबाट घरमा आवश्यक खाद्यान्नको आवश्यकता पूरा गर्दै आउनुभएको छ ।

“बर्खाको समयमा बाढी र डुबानका कारण कृषियोग्य फाँट सबै बाँझा हुन्छन् । लगाएको खेती पनि डुबानले सबै नष्ट हुन्छ”, किसनले भन्नुभयो, “बर्खाको विकल्प फागुन–चैतमा धान रोप्ने र असारमा भित्र्याउने किसानको सङ्ख्या बढ्दै गएको छ ।” उत्पादनका हिसाबले पनि चैते धान राम्रो रहेको उहाँको बुझाइ छ ।

नगरपालिकाको वडा नं ८ मा  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चैते धानको जोन नै सञ्चालनमा ल्याइएको छ । नगरपालिकामा सबैभन्दा बढी चैते धानको आकर्षण वडा नं ३, ६, र ८ मा भएको नगरपालिकाका कृषि शाखा प्रमुख सुशोधन अधिकारीले जानकारी दिनुभयो ।

“पालिकामा बजेट कम हुँदा चैते धान लक्षित कार्यक्रम यस वर्ष सञ्चालन गर्न सकिएन । किसानलाई प्राविधिक सहयोग भने गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “बाढी र डुबानको बढी जोखिम हुने क्षेत्रका किसान चैते धानमा आकर्षित छन् । त्यसलाई फैलाउँदै लैजान नगरपालिकाले रणनीतिक योजना बनाइरहेको छ ।”

नगरपालिकामा यस वर्ष करिब एक हजार हेक्टर क्षेत्रफलमा चैते धानको खेती भइरहेको छ । गत वर्ष आठ सय हेक्टर क्षेत्रफलमा किसानले चैते धानको खेती गरेका कृषि शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चैते धानका चार–पाँच प्रजातिका छन् ।

नगरपालिकाले किसानको पहिचान खुल्ने गरी कृषि व्यक्तित्व ९प्रोफाइल० निर्माणको तयारी पनि गरिरहेको छ । नगरपालिकामा झण्डै ११ हजार हेक्टर कृषियोग्य जमिन रहेको कृषि शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाका अनुसार वर्षायाममा झण्डै तीन हजार जमिन बाढीको समस्याका कारण बाँझो रहने गरेको छ ।

टीकापुर नगरपालिकामा पनि चैते धानको विस्तार सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी, जमरा, कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले चैते धान विस्तारको कार्यक्रम अघि सारेको हो ।

नगरपालिकाको वडा नं ६, ७ र ८ को डुबान क्षेत्रमा चैते धान विस्तार भइरहेको नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकले जानकारी दिनुभयो । “गत वर्ष भन्दा यस वर्ष केही किसानले धानखेती गरेका छन् । त्यसमा नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको छ”, उहाँले भन्नुभयो, “किसानलाई चैते धानप्रति आकर्षण बढाउन आगामी दिनमा नगरपालिकाले कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।”

जोशीपुर गाउँपालिकामा पनि बर्सेनि चैते धानको खेती विस्तार हुँदै गएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख किशोर पन्तले गत वर्षको तुलनामा यस वर्ष चैते धान खेती गर्नेको सङ्ख्या बढेको बताउनुभयो । “यस वर्ष झण्डै २० हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ भएको पाइन्छ । जुन गत वर्षको भन्दा बढी हो”, उहाँले भन्नुभयो, “गाउँपाकिकाले मात्रै १० हेक्टर क्षेत्रफलका लागि किसानलाई धानको बीउ वितरण गरेको थियो ।”

गाउँपालिकको वडा नं ५ मा किसानले सबैभन्दा बढी चैते धान रोप्ने गरेका भन्दै पन्तले यहाँ एक हजार एक सय २० हेक्टर कृषियोग्य जमिन रहेको जानकारी दिनुभयो ।

कुनै समय चैते धानप्रति किसानको निकै आकर्षण रहेको जानकी गाउँपालिका–४ र ७ मा भने सिँचाइको समस्याका कारण खेती गर्न छाडेका छन् । राष्ट्रिय गौरवको आयोजना सुरु भएपछि सहजरूपमा सिँचाइको पहुँच नहुँदा किसानले चैते धानखेती छाडेका बिज वृद्धि कृषक सहकारी संस्थाका व्यवस्थापक गोविन्दराज रावतले बताउनुभयो ।

“सहकारीले चैते धानको बिज वृद्धिको कार्यक्रमअन्तर्गत खेती गर्दै आएको थियो । त्यसमा किसानलाई प्रोत्साहन गर्ने काम पनि सहकारीले गर्दै आएको थियो”, रावतले भन्नुभयो, “आयोजनाको काम हुँदा सिँचाइमा समस्या भएपछि अहिले पूर्ण रूपमा धानखेती रोकिएको छ ।” सिँचाइको सहज सुविधा भए पुन: चैते धानखेती विस्तार कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ ।

जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले पालिकाभित्र यस वर्ष करिब तीन हेक्टर क्षेत्रफलका मात्रै चैते धानको खेती भएको बताउनुभयो । “केही वर्ष पहिले पालिकाभित्र मात्रै आठ–नौ हेक्टरमा यो धानखेती गरिन्थ्यो । सिँचाइको सहज सुविधा नहुँदा अहिले अधिकांशले छाडेका छन्”, उहाँले भन्नुभयो ।रासस