८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओछ्यानमै सुतिरहेका दम्पती पन्ध्र दिनदेखि बेपत्ता



अ+ अ-

जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फागुन १० गते राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म उहाँहरुको कुनै अत्तोपत्तो लागेको छैन ।

घरमा दुई बुढाबूढी मात्रै सुतिरहेको अवस्थामा उहाँलाई बेपत्ता पारिएको हो भने उहाँको घरको ओछ्यान र चौकसमा रगतका छिटा देखिएकाले घटना रहस्मय भएको भन्दै प्रहरीले यही फागुन ११ गते बिहानैदेखि वृद्ध दम्पतीको व्यापकरुपमा खोजतलास गरिरहेको छ । घटनाको १५ दिन भइसक्दा पनि वृद्ध दम्पती नभेटेपछि घटना झन्झन् जटिल बन्दै गइरहेको बताइएको छ ।

प्रहरीले उहाँको गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाका विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषाका समेत विभिन्न स्थानमा व्यापकरुपमा खोजतलास गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाएको छ ।

वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेका कारण उहाँहरुको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाले आँकलन गरिरहेका छन् । प्रहरीले उहाँहरुको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म तीन दर्जन बढी व्यक्तिलाई ल्याइसकेको र आवश्यक सोधपुछ गरिसक्दा पनि वृद्ध दम्पतीका बारेमा कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ । रासस