५ श्रावण २०८३, मंगलवार
,
Latest
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्रापालनबाट आम्दानी गर्दै पूर्णकुमार



अ+ अ-

फिक्कल । फाकफोकथुम गाउँपालिका–४ इलामका पूणर्कुमार राई (दिपेन) ले छ वर्ष दुबईमा बसेर फर्केपछि फाकफोकथुम–४ लुम्देस्थित फावाखोला डाँडामा व्यावसायिक बाख्रापलन व्यवसाय सञ्चालन गर्नुभयो । वडा कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय इलाममा विसं २०७५ मा ‘जुरीथुम्का बाख्रापालन’ फार्म दर्ता गरेर उहाँले व्यावसायिक बाख्रापलन गर्न थाल्नुभएको हो ।

“तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० ले सञ्चालन गरेको सशस्त्रयुद्धका लडाकु थिएँ । विसं २०५८ मा कक्षा ७ मा पढ्दापढ्दै राज्यव्यवस्था परिवर्तनका लागि भन्दै आन्दोलनमा होमिएको हुँ । विसं २०६२र६३ जनआन्दोलनपछि शान्तिप्रक्रिया भएसँगै जीवनको यात्रा पनि मोडियो”, राईले भन्नुभयो । विसं २०६७ मा दुबई गएर छ वर्षपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने लागेर फर्केको उहाँको भनाइ थियो ।

“विसं २०७३ मा करिब रू १८ लाख लिएर नेपाल फर्केको थिएँ । गाउँ फर्किएपछि फाकफोकथुम–५ लुम्देस्थित फावाखोला डाँडाको यथावामा ५६ रोपनी जग्गा रू छ लाखमा खरिद गरेपछि मेरो व्यावसायिक कृषि र पशुपालनको यात्रा सुरु भयो”, राईले भन्नुभयो । उहाँका अनुसार गाउँमै बाख्रापालन फार्म सञ्चालन गरेपछि अन्य युवाले समेत गाउँमा स्वरोजगारीका लागि योजना बनाउन थालेका छन् ।

वैदेशिक रोजगारीबाट गरिएको बचत र बैंकबाट लिएको कर्जा रू १० लाख गरी रू २० लाखको लगानीमा बाख्रापालन सञ्चालनमा ल्याएको राईले जानकारी दिनुभयो । उहाँका अनुसार फार्ममा अहिले विभिन्न जातका सानाठूला गरी एक सय बढी बाख्रा छन् । स्थानीय तथा उन्नत जातका बाख्रासमेत थप गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । उहाँको फार्ममा बाख्रासँगै पशुतर्फ गाई र राँगा एवम् कृषितर्फ अलैँची, केरा, कफी, मेवा, लसुन, कागती खेती विस्तार गर्नुभएको छ ।

पूर्णकुमारले गाउँमै व्यावसायिक कृषि र पशुपालनबाट लाखौँ आम्दानी गरिरहनुभएको छ । व्यवासाय सुरु गरेपछि उहाँलाई घरखर्च टार्न कुनै समस्य छैन । “अहिले घरखर्च टार्न कसैलाई माग्नु परेको छैन । यही व्यवसायबाट सहजरुपमा जीविकोपार्जन भइरहेको छ”, उहाँले भन्नुभयो, “युवा जनशक्ति विदेश पलायनसँगै गाउँघर रित्तिदैँ गएका बेला म चाँही स्वेदशमै पसिना बगाउने सङ्कल्पका साथ यही व्यवसायमा लागिरहेको छु ।”

राईले वैदेशिक रोजगारीबाट सिकेको सीप गाउँघरमै प्रयोग गरिरहेको बताउनुभयो । फुङ्ग धुलो उड्ने सुख्खा डाँडो अहिले हरियाली भएको छ । बाख्रापालनबाट सङ्कलन भएको मलबाट डाँडामा फलफूल, तरकारी खेती र अलैँचीका बोटले हराभरा भएका छन् । उहाँको मेहनतबाट स्थानीय किसानसमेत उत्साहित भएका छन् ।

पूर्णकुमारले आफ्नो ५६ रोपनी जग्गा नपुगेर घाँस र चरन क्षेत्रका लागि सात सय रोपनी जग्गा भाडामा लिएको जानकारी दिनुभयो । रोजगारीका लागि विदेश जानु भन्दा गाउँघरमै कुनै न कुनै व्यवसाय गरेर आम्दानी गर्न सकिने उहाँको भनाइ थियो ।

उहाँको फार्मले प्रोत्साहनस्वरुप तीन वर्षअघि तत्कालीन प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक नमुना बाख्रा फार्म कार्यक्रमअन्तर्गत रू १० लाख अनुदानसमेत पाएको छ । सो अनुदानबाट आधुनिक बाख्रोको खोर निर्माण गरेको राईले बताउनुभयो । उहाँका अनुसार बोका, माउ बाख्रा, खसी एवम् पाठापाठीका राख्ने खोर अलगअलग बनेका छन् ।

पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले गाउँमै बाख्रापान सुरु गरेको राईको भनाइ थियो । “बेरोजगार युवा विदेशिने क्रम रोक्न तथा गाउँघरमै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक बाख्रापालन सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “बैंकको कर्जा विस्तारै तिरिसक्न लागेँ । कर्जा चुक्ता गरेपछि अझ बाख्रा थप्ने योजनामा छु ।” रासस