२८ पुष २०८१, आईतवार
,
Latest
आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन एक सय ३८ कन्या कुमारीको बेल विवाह (तस्बिरहरु) रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा हाजिर, आजै बयान र थुनछेक मेरिना इम्पेक्सको सुटमा क्रिकेट खेलाडी भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने आज तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्ति सहमति विपरीत: कांग्रेस नेता सत्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सबै सांसदसँग एकैपटक छलफल गरिने



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन हाल्ने सबै सांसदहरुसँग एकैपटक छलफल गर्ने भएको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आईतवार (आज) राखिएको थियो । आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्तावकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूचि रहेको थियो । सोहीअनुरुप संशोधनकर्ता केही सांसदहरुलाई बोलाइएको पनि थियो । तर बैठकमा उपस्थित संशोधनकर्ता सांसदहरुले सबै संशोधनकर्ता सांसदहरुको सामुहिक उपस्थितिमा संशोधनमाथि छलफल गर्नुपर्ने आग्रह गरेपछि बैठक स्थगित भएको हो ।

समिति सभापति विमला सुवेदीले समिति सदस्यहरुको आग्रह बमोजिम आगामी बैठक पुष १६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको जानकारी गराउनु भयो । उहाँले आगामी बैठकमा विधेयकमाथि संशोधन प्रश्ताव राख्ने सबै सांसदहरुलाई बोलाइने बताउनु भयो । सभापति सुवेदीले आजको बैठकमा ६२ जना संशोधनकर्ताहरुमध्ये ५६ जनालाई खबर गरिएको भएपनि त्यसमध्ये १९ जनाले बैठकमा उपस्थिति जनाउने प्रतिवद्धता जनाएअनुरुप बैठक राखिएको पनि उल्लेख गर्नुभयो । आगामी बैठकका लागि समितिले संशोधनकर्ताहरुलाई फोनसँगै म्यासेज पनि गर्ने उहाँको भनाई छ ।

बैठकमा नेकपा(एमाले)का सांसद रघुजी पन्तले सबै संशोधनकर्ताहरुलाई एकैपटक बोलाएर संशोधन प्रश्तावमाथि छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले आफुहरु सबै संशोधनकर्ताहरुको कुरा सुन्न चाहेको बताउनु भयो । उहाँले सबैलाई एकैपटक नबोलाएर प्रतिनिधि सभा नियमावलीको अधिकार कुण्ठित गरिएको बताउनु भयो ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत एकै पटक ४०/५० वटा ऐन संशोधन गर्नु राज्य प्रतिको डकैती भएको बताउनु भयो । केही संशोधनकर्ताहरुलाई मात्रै बोलाएर संशोधनउपर छलफल गर्नु प्रक्रियागत त्रुटी भएको भन्दै उहाँले सबैलाई एकै पटक बोलाएर प्रक्रियागत रुपमा बैठक राख्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विधेयकमा सत्तापक्षका सांसदहरुले समेत संशोधन हालेका भन्दै सत्तापक्षिय सांसदहरु कुन कित्तामा उभिन्छन् आफूहरुले बैठकमै हेर्न चाहेको बताउनु भयो । उहाँले पनि सबैलाई एकै पटक बोलाएर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेकपा(एमाले)की सांसद प्रतिक्षा तिवारीले पनि सबै संशोधनकर्ता सांसदहरुलाई सामुहिक रुपमा बोलाउनुपर्ने धारणा राख्नुभएको थियो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सबै संशोधनकर्ता सांसदहरुको उपस्थितिमा बैठक राख्नुपर्ने सांसदहरुको धारणा जायज रहेको बताउनु भयो । उहाँले पनि बैठक आगामी दिनमा संशोधनकर्ताहरुलाई संयुक्त रुपमा बोलाएर गर्नुपर्ने बताउनु भयो ।

जनता समाजवादी पार्टी नेपालकि सांसद रञ्जुकुमारी झाले सबै संशोधनकर्ता सांसदहरुलाई एकै पटक बोलाउनुपर्ने तर अर्को पटक नबोलाउने धारणा राख्नुभयो । संशोधनकर्ताहरु एकै पटक बसेर छलफल गर्नुपर्ने उहाँको पनि धारणा रह्यो ।

बोल्ने सबै सांसदहरुले सबै संशोधनकर्ताहरु एकै पटक उपस्थित भएर छलफल गर्नुपर्ने धारणा राखेपछि समितिको बैठक एक हप्तापछि धकेलिएको हो ।