२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतसँगको मैत्रीसन्धि सुदृढ द्विपक्षीय संयन्त्र



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त अधिराज्यसँग नेपालले एक सय वर्षअघि गरेको मैत्रीसन्धि विगतमा गरिएको लियो अन्तर्राष्ट्रिय संयन्त्र भएको बताउनुभएको छ ।

नेपाल–बेलायत मैत्रीसन्धिको एक सय वर्ष पूरा भएको अवसरमा आज उक्त सन्धिमा हस्तारक्षर भएको स्थल सिंहदरबारको प्रक्ष्यालयमा आयोजित समारोहमा उहाँले भन्नुभयो, “अफ्रिका–एसियाका धेरै देशहरू राजनीतिक स्वतन्त्रता र उपनिवेशीकरणविरुद्ध सङ्घर्ष गरिरहेका बेला नेपालले त्यतिबेलाको महाशक्तिसँग सन्धिमा हस्ताक्षर गर्नु गौरवको विषय हो ।”

परराष्ट्रमन्त्री साउदले नेपाल र बेलायतबीच दुई शताब्दीअघि सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित हुँदा मैत्रीसन्धिले दुई देशबीचको चिरस्थायी मित्रता र विश्वासलाई सुदृढ बनाएको उल्लेख गर्नुभयो ।

सन्धिको शताब्दीको स्मरणमा यो वर्ष दुवै देशमा विभिन्न कार्यक्रम र गतिविधिहरू आयोजना भएको उल्लेख गर्दै मन्त्री साउदले यसअघि मन्त्रालयले काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबार स्क्वायरमा कार्यक्रम आयोजना गरेको जानकारी गराउनुभयो ।

नेपालले समानताका आधारमा सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रको रूपमा उक्त सन्धिमा हस्ताक्षर गरेको उल्लेख गर्दै मन्त्री साउदले विगत सय वर्षहरूमा, नेपालको सम्बन्ध धेरै गुणा बढेको र धेरै क्षेत्रमा विस्तार भएको बताउनुभयो ।

मन्त्री साउदले भन्नुभयो, “बेलायत नेपालको लामो समयदेखि विकास साझेदार रहेको छ । बेलायले अनुदान सहायतामा वर्षौँदेखि नेपाललाई प्रमुख द्विपक्षीय विकास साझेदारहरूको सूचीमा राखेको छ । हाम्रा दुई देशबीच द्विपक्षीय व्यापार, पर्यटन र लगानी बढ्दै गएकोमा हामी खुसी छौँ ।”

सन्धिमा हस्ताक्षर भएको मितिदेखि आजसम्म नेपाल–बेलायत सम्बन्धले निकै फड्को मारेको बताउँदै मन्त्री साउदले यसले राजनीतिक संवाद, आर्थिक साझेदारी, व्यापार र लगानी, पर्यटन, विदेशमा रहेका नेपाली, ब्रिटिश गोर्खा र जनता–जनताको सम्बन्धका अन्य आयामहरूमा विस्तार गरेको उल्लेख गर्नुभयो ।

परराष्ट्र सचिव सेवा लम्सालले उक्त सन्धिपछि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको र सन्धिपछि बेलायतले काठमाडौँमा पहिलो राजदूतावास स्थापना गरेको बताउनुभयो । नेपाल–बेलायतबीचको मैत्रीसन्धि द्विपक्षीय सम्बन्धका लागि महत्त्वपूर्ण भएको बताउँदै उहाँले बेलायत नेपालको मुख्य विकास साझेदारका रुपमा रहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि बेलायती राजदूत रोब फेनले दुई देशबीचको मैत्रीसन्धिका कारण नेपाल कहिल्यै पराधीन नभएको बताउनुभयो । उहाँले विश्वका उदीयमान दुई छिमेकी भारत र चीनबीचमा रहेको नेपालले ती देशले गरेका प्रगतिबाट लाभ लिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

समारोहमा राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्य सचिव डा बैकुण्ठ अर्याल, सरकारका विशिष्ट श्रेणीका अधिकारी, काठमाडौँस्थित विभिन्न मुुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति थियो । रासस